विश्वसमाचार

हराइरहेको १० करोड डलर पर्ने अमेरिकी लडाकु विमानको भग्नावशेष भेटियो

नेपालअखबार, वासिङ्टन डिसी । दक्षिण क्यारोलाइनामा उडान भरिरहेको बेला पाइलटले ‘इजेक्ट’ गरेपछि हराइरहेको एफ–३५ लडाकु विमानको भग्नावशेष फेला परेको अमेरिकी सैन्य अधिकारीहरूले जानकारी दिएका छन् । आइतबार साँझदेखि हराइरहेको १० करोड डलर पर्ने विमानको भग्नावशेष ग्रामीण विलियम्सबर्ग काउन्टीमा फेला परेको हो ।

विमानका पाइलट भने ककपिटबाट इजेक्ट गरेर प्यारासुटको मद्दतले उत्तरी चार्लेस्टनमा सुरक्षितरुपमा अवतरण गरेका थिए । उनलाई अस्पताल लगिएको र उनको अवस्था स्थिर रहेको बताइएको छ । तर, विमान भने फेला नपरेपछि सेनाले सर्वसाधारणलाई समेत विमानको खोजी गर्नका लागि आग्रह गरेको थियो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै सैन्य अधिकारीहरूले चार्लेस्टनमा रहेको संयुक्त बेसभन्दा दुई घण्टा टाढा उत्तर–पूर्वमा विमानको भग्नावशेष फेला परेको बताएका छन् । मरिन कोर्प्सले दुर्घटना के कारणले भयो भन्ने विषयमा छानबिन भइरहेकाले थप बताउन नसक्ने जानकारी दिएको छ ।

पाइलटले विमान छाड्दा त्यो अटोपाइलटमा रहेका कारण विमानले केही समय आफै उडान भरेको थियो । यसले गर्दा विमानको खोजीमा समस्या देखिएको थियो । एफबी लाइटनिङ टू मरिन फाइटर विमान मरिन फ्याइटर अट्याक ट्रेनिङ स्क्वार्डन ५०१ सँग रहेको थियो । यसलाई पाइलटहरूलाई प्रशिक्षण गराउन प्रयोग गरिने अमेरिकी मिडियाहरूले जनाएका छन् ।

the authoradmin