समाचारसमाज

‘ज्यानको बाजी थापेर निउरो टिपेर ल्याउँछौं तर किन्नेहरूले मूल्य घटाउँछन्’

Nepal Akhabar

नेपालअखबार, चितवन। चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलको जङ्गलको नजिकै कुमारी विकको घर छ। जंगलबाट निउरो टिप्ने र सडक किनारामा बसेर निउरो बेच्ने उनको दैनिकी बनेको छ। कुमारी तीन वर्षदेखि यही काम गरिरहेकी छन्।

कुमारीसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बेच्छन्।

२०६१ मा गोरखाबाट चितवन झरेकी कुमारी सुरुआती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आएकी थिइन्।

सो काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उनी निउरो बिक्री गर्न थालेकी थिइन्। ‘दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नु परेको छ,’ उनले भने।

दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै कुमारीले यही कमाईले घर र छोरालाई पढाउने खर्च पुगेको बताइन्।

‘घामपानी नभनी जङ्गलमा गएर निउरो टिपेर ल्याउनु पर्छ, दुःख छ,’ उनले भनिन्, ‘दुःखै गरेर भए पनि आफ्नो दैनिकी सजह रुपमा चलेको छ।’

५० वर्ष नाघेकी उनले जंगलमा निउरो टिप्न जाँदा कहिलेकाहीँ जंगली जनावरसँग जम्काभेट हुन्छ। कैयौं पटक अब बाँचिन्न भन्ने अवस्थामा पुगेको उनी सुनाउँछिन्। ‘अगाडि नै गैँडा भेटिँदा त मुटुले ठाम छोड्छ, आजसम्म बाँचिरहेकै छु”, उनले भनिन्।

जंगलमा निउरो टिप्न मासिक तीन सयको टिकट काट्नुपर्छ। दुःख गरेर निउरो टिपेर ल्याएपनि कुनैदिन बिक्री हुँदैन। कुनैदिन सस्तोमा बेच्नुपर्छ। त्यतिबेला निकै खिन्न हुन्छिन् कुमारी। ‘ज्यानको बाजी थापेर निउरो टिपेर बेच्न बस्यो तर किन्नेहरुले मूल्य घटाउँछन्। ग्राहकहरू एक सयको निउरो किन्दा १० रूपैयासम्म भएपनि मूल्य घटाएर लैजान्छन्,’ उनले भनिन्।

रत्ननगरकी लक्ष्मी पुलामी मगर अहिले ६० वर्ष पुगिन् । उनले पनि जंगली तरकारी बिक्री गरेर दैनिकी चलाएकी छन्।

पहिले हाटबजारमा तरकारी तथा फलफूल बेच्दै आएभएकी मगर कोरोनासँगै हाटबजारमा तरकारी बिक्री गर्न नपाएपछि सडक छेउमा बसेर व्यापार गरेको सुनाउँछिन्।

‘उमेर ढल्किँदै गयो, अरु काम गर्न सकिदैन । दिनभरि सडक छेउमा निउरो, सालको पात र टुसा बेच्छु,’ उनले भनिन्, ‘सके आफैं जंगल जान्छु, कहिलेकाहीँ अरूले टिपेर ल्याएको पनि बिक्री गर्ने गरेको छु।’

आफैंले टिपेर ल्याउन सके फाइदा हुने भन्दै अरूसँग किनेर बेच्दा खासै बचत नहुने उनको भनाइ थियो।

दुःख गरेर ल्याइएपनि चिल्ला गाडीमा आउनेहरू दस पाँच रूपैयाँमा बार्गेनिङ गर्दा दुःख लाग्ने उनी सुनाउँछिन्।

‘चिल्ला गाडीमा गुडेर आउने ग्राहकले महँगा होटेलमा खाँदा पैसा थपेर दिन्छन भन

सुन्छु । हामी ताजा तरकारी बेच्नेसँग १० रूपैयाँमा चित्त नबुझे फालेर हिँड्छन्,’ उनले भनिन्।

त्यति हुँदा पनि दैनिक एक हजारसम्म आम्दानी हुने उनले बताइन्।

भरतपुर महानगरपालिका–८ का ताराबहादुर तामाङ पनि टिकौली सडक छेउमा निउरो बिक्री गर्दै आएका छन्।

विगत ६ महिनाअघि देखि यो पेसामा लागेका तामाङ आफैं निउरो, टुसा र सालको पात टिपेर बिक्रीका लागि ल्याउँछन्। यसैबाट घरपरिवार चलेको उनले बताए।

पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बरण्डाभार जंगल क्षेत्रमा पर्ने सडकमा बसेर निउरो बिक्री गर्न नपाइने बताउँछन् । उहाँले जङ्गल कटेपछिको सडकमा बिक्री वितरण गर्दा निकुञ्जले कुनै अवरोध नगरेको बताए ।

अहिले निकुञ्जमा नभई सामुदायिक वनमा मात्रै निउरो टिप्नका लागि अनुमति दिइने गरेको पनि उनले जानकारी दिए। रासस

 

the authoradmin