राजनीतिसमाचार

कैलाश पर्वत र मानसरोवरको भ्रमण गर्न सकिने व्यवस्था मिलाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् ।

बिहीबार कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकन गरी उनले नेपाली, भारतीय र अन्य देशका पर्यटकहरुले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी दिए ।

प्रधानमन्त्री  प्रचण्डले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने जानकारी दिए ।

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर करिब २ सय ५० किलोमिटर टाढा रहको छ । नेपालको हुम्लाबाट यात्रा गर्दा सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल–चीन सिमानाबाट भने ७० किलोमिटर टाढा रहेको छ । सिमकोटबाट कैलाश मानसरोवर जान अहिले सडक संजाल जोडिएको भएपनि सडकको ट्रयाकमात्रै खोलिएकाले यात्रा गर्न असहज रहेको छ । प्रधानमन्त्री प्रचण्डले सो सडकको गुणस्तर वृद्धि गर्ने काम छिट्टै अघि बढाइने जानकारी दिए ।

कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोवर ताल रहेको छ । मानसरोवर ताल पनि हिन्दूहरुका लागि पवित्र तीर्थस्थल हो । कैलाश पर्वतमा बस्ने महादेवले यही मानसरोवर तालमा स्नान गर्ने गरेको भन्ने हिन्दु धर्मावलम्बीहरुको जनविश्वास रहेको छ ।

the authoradmin