Saturday, July 18

जनताहरूले आर्थिक अधिकार प्राप्त गर्न सकेनन्: झलनाथ खनाल

नेपालअखबार। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनताहरूले राजनीतिक अधिकार प्राप्त गरेपनि आर्थिक अधिकार प्राप्त गर्न नसकेको बताउनु भएको छ।

Advertisement

पार्टीले यहि असोज १४ गते कोशी प्रदेशको झापाबाट सुरु गरेको समाजवादी जागरण अभियान २०८० को सातौ दिन बर्दघाट ४,नबलपरासीमा आयोजित सभामा बोल्दै नेता खनालले उक्त कुरा बताउनु भएको हो।

Advertisement
Advertisement

उहाँले भन्नुभयो,‘हामीले पूँजीवादी जनवादी क्रान्ति सफल पार्यौं। बोल्ने, संगठित हुने अधिकार पायौं। तर, जनतालाई हामीले आर्थिक अधिकार दिन सकेनौं। आज देशमा भोकमरी, अभाव बाँकी छ। गरिबी बाँकी छ। शोषणबाँकी छ। हिजोको सामान्तवादी शोषणको ठाउँमा आज पूँजीवादी शोषण छ। कोही रातारात केही मान्छेहरू अर्बपति बनिरहेका छन्। तर, आम जनता गरिबीले थिचिरहेका छन्। यहि हो आजको मुख्य अन्तरविरोधको कुरा।’

Advertisement

वर्गीय शोषणलाई पूँजीवाले अन्त्य गर्न नसक्ने बताउँदै सम्मानित नेता खनालले वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘वर्गीय शोषण पूँजीवादले अन्त्य गर्न सक्दैन। १८ वर्षदेखि नेपालमा प्रत्यक्ष रुपमा पूँजीवाले शासन गरेको छ। गरिबी उही छ। महिला हिँसा उही छ। बालबालि दुरुपयोग उस्तै छ। भ्रष्टाचार झन्झन् बढिरहेको छ। बेरोजगी उस्तै छ। लाखौ युवाहरू विदेशमा छन्। यस्ता गलत कार्यहरूको अन्त्य गर्ने भनेको समाजवादले हो। समाजमा रहेको सम्पूर्ण विभेदको अन्त्य गर्ने व्यवस्था भनेको समाजवादले मात्रै हो। आज हामीले प्रयोग गर्ने कपडा, हामी उपभोग गर्ने खाने कुराहरू आयात गरिरहेका छौं। आयातले देश समृद्धि बन्छ? बन्दैन। त्यसलै हामीले भन्यौं,उत्पादन, रोजगारी नै समाजवादीको मुख्य आधार हो। हामी आत्मनिर्भर बन्नका निम्ति उत्पादनमा जोडिनुपर्छ।’