Monday, August 3

दसैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ

नेपालअखबार, काठमाडौँ । दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् ।

Advertisement

काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् ।

Advertisement
Advertisement

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार हवाई यातायाततर्फ सार्वजनिक यातायात जस्तो ठ्याक्कै यो दिन टिकट खुल्ने भन्ने व्यवस्था नरहेकाले यात्रुले सस्तो दरका सबै टिकट काटिसकेका छन् । उनले भने, “बुद्ध एयरको सुर्खेत र तुम्लिङटारको टिकट दसैँसम्मलाई नै प्याक भइसकेको छ । अन्य गन्तव्यतर्फ दसैँसम्मका २० प्रतिशत टिकट बाँकी नै छन् ।”

Advertisement

अग्रिम टिकट काट्नेले सस्तो र तुरुन्तै टिकट काटेर उड्न चाहनेले महँगो टिकट लिन सक्ने भएकाले महिना दिन पहिलेदेखि नै दसैँका टिकट लिनेसमेत रहेको उनले बताए । दसैँका बेला राजधानीबाट बाहिरिने उडान भरिभराउ भए पनि राजधानी फर्किने उडानको टिकट लिनेको सङ्ख्या भने न्यून रहेको उनले बताए । अहिले राजधानी फर्किनेले टिकट सस्तो दरमा पाइरहेको समेत उनको भनाइ छ ।

त्यस्तै यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दसैँ लक्षित यती एयरका ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेका छन् । दसैँपछि राजधानी फर्कने यात्रुले अहिले नै अग्रिम टिकट काट्न थालेकाले दसैँपछि समेत राजधानी फर्कन अहिलेकै अवस्था रहने उनले बताए ।

उनले भने, “अहिले एकतर्फी उडानको भाडा महँगो भए जस्तै दसैँपछि पनि केही दिन त्यस्तै हुने हो । टिकटको मूल्य सरकारले तोकेको उच्चतम र न्यूनतम बिन्दुभित्रै रहने भएकाले आठ वर्षदेखि हवाई कम्पनीले बढाएका छैनन् ।”

अहिले अन्तर्राष्ट्रियतर्फ मात्रै ४० हाराहारीमा उडान थप गरिएकाले बढ्दो एयर ट्राफिकका कारण जहाजको उडान समय खर्चसमेत बढ्न गएको उनको भनाइ छ । हाल भैरहवा, पोखरा, जनकपुर, विराटनगर, धनगढीलगायतका गन्तव्यका उडानमा बढी चाप रहेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।