Monday, May 25

व्यावसायिक फूलखेतीबाटै पाल्पा चिनाउने रहर

नेपालअखबार, पाल्पा। तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ। तिहार सुरु भएदेखि नै फूलबारीमा ग्राहक आफैं पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन्।

यतिबेला हाम्रो आधुनिक कृषि फार्म रामपुर पाल्पामा सयपत्री फूल खरिद गर्न विभिन्न ठाउँबाट ग्राहक पुग्ने गरेका छन् । तिहारको चहलपहलले फूल टिप्ने र बिक्री गर्दैमा समय बितेको पत्तो नभएको व्यवसायी दिलबहादुर थापा बताउँछन्।

Advertisement

‘तिहार सुरु भएदेखि नै फूलमाला खरिद गर्न ग्राहक आउन थाल्नुभएको हो, बिहानदेखि साँझसम्म फूलवारीमा फूल टिप्ने, माला तयार पार्ने कार्यमा व्यस्त छौँ, फूलमालाको व्यापार राम्रो हुँदै गएको छ,’ उनले भने।

यसपटक मात्रै करिब चार लाख रुपैयाँसम्मको फूलमाला बिक्रीबाट आम्दानी हुने व्यवसायी थापाले बताएका छन्। गत वर्षको तिहारमा मात्रै दुई लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी भएको उनको भनाइ छ। चार वर्षअघि रामपुर नगरपालिकाको सहयोगमा बुटवलमा एक हप्ते पुष्प व्यवसायसम्बन्धी तालिम लिएर रामपुरमा व्यावसायिक उत्पादन सुरु गरेको उनले बताए।

फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातिका उत्पादनलगायतका सम्बन्धमा ज्ञान सीप पाएपछि नयाँ ढङ्गबाट उहाँले व्यावसायिक रुपमा खेती गरेका छन्। करिब १५ मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ। फूलखेतीबाट आफूमात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उनको सपना छ।

एक वर्षमा तीन पटकसम्म सयपत्रीको व्यावसायिक खेती गर्न सकिन्छ । तिहारमा फूलमालाको अभाव हुन नदिनका लागि हरेक वर्ष क्षेत्रफल बढाएर खेती गरिरहेको अर्का व्यवसायी लालबहादुर थापाले बताए

हरेक वर्ष तिहारमा फूल अभाव भएर धेरै ग्राहकलाई रित्तै पठाउनुपरेकाले अहिले व्यवसाय बढाएर खेती गरिरहेकाले यो वर्षको तिहारमा फूल अभाव हुँदैन, प्रशस्त मात्रामा फूल छन्, जतिबेला पनि ग्राहकलाई हामी उपलब्ध गराउनेछौं,’ उनले भने।

यहाँ उत्पादन भएको सयपत्री फूल प्रतिकिलो पाँच सय, प्रतिमाला एक सय ५० रुपैयाँमा धमाधम बिक्री भइरहेको छ। गुणस्तरीय फूलमाला पाएपछि ग्राहक सन्तुष्ट छन्। करिब साढे चार रोपनी जग्गामा लगाइएको फूल यतिबेला ढकमक्क पहेँलै फुलेका छन्। परीक्षणका रुपमा एक रोपनीमा सुरु गरेको व्यवसायले पहिलो वर्षमा नै राम्रो व्यापार भएपछि यसलाई निरन्तरता दिँदै हरेक वर्ष व्यावसाय बढाउँदै गएको व्यवसायी बताउँछन्। फूलमा बसेर फोटो, भिडियो, टिकटक बनाउने हरेक उमेर समुहको चहलपहल पनि उत्तिकै छ।