
नेपालअखबार,पाेखरा । पोखरा महानगरभित्र रहेका खोलानालाबाट ढुंगा, गिटी र बालुवा तस्करी गरेका ५६ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरभित्र रहेका खोलाहरूबाट तस्करी गरिरहेका अवस्थामा विशेष अपरेसनमार्फत् यतिका संख्यामा सवारी नियन्त्रण गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।
‘खोलानालाबाट ठूलो मात्रामा प्राकृतिक स्रोत दोहन गरिरहेका सवारी साधन नियन्त्रणमा लिन हामीले विशेष टिम परिचालन गरेका थियौं,’ एसपी थापाले भने, ‘हाम्रो अनुमान दुई सय वटा सवारी नियन्त्रणमा आऊलान् भन्ने थियो, आज ५६ वटा नियन्त्रण गर्न सक्यौं।’
पोखरा महानगरभित्र रहेका घाटहरूमा गत वर्षदेखि नै ठेक्का लाग्न सकेको छैन। घाटहरूमा थुप्रिएका ढुंगा, गिटी र बालुवाको ठेक्का नलागे पनि गत वर्षदेखि नै अवैध उत्खनन् भने जारी छ।
अवैध उत्खनन् रोक्न प्रहरीले विशेष अभियान नै चलाएको एसपी थापाले बताए।
‘पोखराका कुनै पनि नदीनालाबाट अवैध उत्खनन् हुन दिन्नौं,’ उनले भने, ‘अब नियमित निगरानी गर्छौं।’
नियन्त्रणमा लिइएका ट्रक, टिपर, ट्र्याक्टरलगायत सवारीले ढुंगा, गिटी, बालुवालगायत नदीजन्य पदार्थ उत्खनन् गर्ने अनुमति नपाएको, भ्याटबिल नभएको र नक्कली बिल बनाएर ओसारपसार गरेको पाइएको प्रहरीले बताएको छ।
नदीजन्य सामग्रीसहित नियन्त्रणमा लिइएका सवारीलाई कारबाही गर्न पोखरा महानगरलाई बुझाएको एसपी थापाले बताए।
पोखरा महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले कानुनबमोजिम चलेका सवारी साधनलाई छाडेको र बाँकीलाई कारबाही प्रक्रियामा राखेको बताए।
महानगरले यस आर्थिक वर्षका लागि बनाएको आर्थिक ऐन २०८० ले नदीजन्य पदार्थ ओसार पसार गर्ने सवारी साधनलाई १२ हजारदेखि ५० हजारसम्म जरिवाना हुने उल्लेख छ।

