
नेपालअखबार, काठमाडौं । लामो समयदेखि अलपत्र परेको सालझण्डी-ढोरपाटन सडक निर्माण द्रुत गतिमा अघि बढेको छ । तराई-पहाड जोड्ने गरी निर्माण थालिएको सडकको बागलुङ खण्डको काम द्रुत गतिमा अघि बढेको हो ।
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्डमा ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसकेको थियो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको थिएन ।
सरकारले सडक स्तरोन्नतिका लागि गत वर्ष ६० करोड रुपैयाँ विनियोजन गरेको थियो । कूल १९१ किलोमिटर मध्ये बागलुङ खण्डमा मात्रै ६१ मिलोमिटर सडक पर्छ ।
त्यसमध्ये चार किलोमिटर सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पर्ने हुँदा कालोपत्र भइसकेको छ । त्यसबाहेक ५७ किलोमिटर सडक निकै साँघुरो र जोखिमपूर्ण छ ।

