प्रशासनसमाचार

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता दुई हजार ४७

नेपालअखबार, काठमाडौं । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली स्वीकृत भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले मतदाता नामावली स्वीकृत गरेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने कानूनी व्यवस्था छ । सोही व्यवस्थाबमोजिम प्रदेशसभा सदस्य ५ सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर एक हजार ४ सय ९८ जना गरी जम्मा २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत भएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिनुभयो  ।

स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५ सय ५० मध्ये निधन भएका एक जनाको नाम हटाइ ५ सय ४९ जना कायम गरिएको छ । त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरतर्फको कुल मतदाता १ हजार ५ सय ६ मध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपमेयर एक र निलम्बनमा परेका गाउँपालिका अध्यक्ष एक, नगरपालिकाका मेयर ४ गरी आठ जनाको नाम हटाइ १ हजार ४ सय ९८ जनाको नामावली स्वीकृत भएको प्रवक्ता पौडेलले बताउनु भयो  ।

निर्वाचन कार्यक्रमबमोजिम पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावलीमा कसैको छुटेको भए नाम समावेश गर्न, समावेश भएका व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनुपर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

जम्मा मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको मतभार १९ रहेकोले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको कुल मतभार २८ हजार ४६२ गरी जम्मा ५७ हजार ५ सय ५९ मतभार रहेको छ ।

the authoradmin