प्रशासनसमाचारहाइलाइट-समाचार

ऐनमा संशोधन गर्नेगरी ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने तयारी थालेका छौ :मन्त्री प्रकाश ज्वाला

नेपालअखबार, काठमाडौं । यातायात व्यवसायी र यातायात मजदुर संघ/संगठनहरुले तत्काल ड्राइभिङ स्कुल खोल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग माग गरेका छन्।

‘मन्त्रीज्यू, हरेक घरमा सवारी चालक आवश्यक भइसक्यो तर नेपालमा दक्ष ड्राइभर पनि विदेश पलायन हुन थाले। दक्ष चालक नै पाउन मुस्किल भयो र दक्ष चालकको अभावमा दुर्घटना बढ्न थाले,’ व्यवसायी र मजदुर संगठनका पदाधिकारीहले भने, ‘अब ड्राइभिङ स्कुल वा छुट्टै संस्थाको आवश्यकता परिसक्यो।’

सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मसौदामा छलफल गर्न मन्त्री ज्वालाले सरोकारवाला निकायहरुलाई बोलाएका थिए। विधेयकको मसौदामा सुझाव दिँदै व्यवसायी र मजदुर संगठनहरुले ड्राइभिङ स्कुलको माग गरेका हुन्।

सवारी ऐन २०४९ संशोधन गर्न मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ। व्यवसायी र मजदुर संगठनको ड्राभिङ स्कुल खोल्ने प्रस्तावमा मन्त्री ज्वालाले ऐनमा व्यवस्था गर्ने गरी काम थालेको बताएका छन्।

‘ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने गरी ऐनमा संशोधन गर्नेगरी हामीले तयारी थालेका छौ,’ मन्त्री ज्वालाले भने। स्वरोजगार यातायात मजदुर संगठन, एकीकृत यातायात मजदुर संगठन, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल मजदुर संघ, नेपाल यातायात मजदुर संघका पदाधिकारीहरु छलफलमा सहभागी थिए।

त्यसैगरी सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल ट्रक यातायात व्यवसायी महासंघका पदाधिकारहरुको सहभागिता रहेको थियो।

छलफलमा व्यवसायी र मजदुर संघ/संगठनका पदाधिकारीहरले फरक–फरक सरकारले बनाउने ऐनका कारण ठूलो समस्या झेलेको गुनासो गरेका छन्। संघीय, प्रदेश र स्थानीय सरकारले फरक–फरक सवारी ऐन बनाउँदा निकै समस्या परेको गुनासो गर्दै एकरुपता हुने गरी पहल गर्न मन्त्री ज्वालासँग आग्रह गरेका छन्।

जवाफमा मन्त्री ज्वालाले प्रदेश सरकारका यातायात मन्त्री र सचिवहरुसँग छलफल गर्नेगरी ७ गते बैठक राखेको जानकारी दिएका छन्। प्रदेश सरकारसँग यसअघि नै तीन पटक बैठक बसिसकेको छ।

the authoradmin