Wednesday, February 11

‘प्रचण्डपछिको प्रधानमन्त्री माधव नेपाल नै हो’

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले अबको एक वर्षपछि माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । २०७९ पुस १० गते भङ्ग भएको गठबन्धन जोडिँदाको जेन्टलमेन्ट एग्रिमेन्ट अनुसार प्रचण्डपछि माधव नेपाल र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए । उक्त जेन्टलमेन्ट एग्रिमेन्ट लागू हुने र अबको एक वर्षभित्र माधव नेपाल प्रधानमन्त्री भइछाड्ने उनको दाबी छ ।

‘यसमा कुनै दुविधा छैन । जेन्टलमेन्ट एग्रिमेन्ट भएको छ । २०७९ साल पुस १० गते भत्किसकेको गठबन्धनलाई फेरि जोड्ने काम गर्‍यौँ,’ उनले भने, ‘पहिलो कार्यकाल नेकपा (माओवादी) ले दुई वर्ष, त्यसपछि नेकपा (एकीकृत समाजवादी) ले गर्ने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हाम्रो सहमति छ । अब माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’

Advertisement

शनिबार रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दे उनले कोशीको कारणले गठबन्धनमा कुनै पनि प्रकारको फेरबदल नआउने बताए । ‘म स्पष्टसँग भन्छु– यो गठबन्धन अब बाँकी रहेको चार वर्ष अवधि टुट्दैन । गठबन्धनमै सरकार चल्छ र यो देश अगाडि बढ्छ,’ उनले भने ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको परिणामलाई लिएर सत्तारुढ गठबन्धनमा केही  अविश्वास भने पैदा भएको उनले बताए । साथै, कांग्रेसबाट यस्ता प्रकारका घात पहिला पनि भएको उनको आरोप छ । उनले २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूलाई कांग्रेसले नै हराएको दाबी गरे । उनले कांग्रेस पार्टीका नेताहरू आफ्नै नेताहरुलाई समेत हराउन लागि पर्ने प्रवृत्तिका रहेको बताउँदै गठबन्धन दलका उम्मेदवार हराउन लागिपर्नुलाई नौलो मान्न नहुने बताए ।

जनतामा पुराना पार्टीप्रति वितृष्णा आउनुको पहिलो कारक कांग्रेस र उसका गतिविधि रहेकोसमेत उनले टिप्पणी गरे । २०७९ मा प्रतिनिधि सभाको निर्वाचन भएर गठबन्धनको सरकार बन्दै गर्दा संवैधानिक परिषद्मा नेकपा (एस) सहभागिता शून्य भएको विषयमा छलफल हुँदा आफूहरूलाई राष्ट्रिय सभाको अध्यक्ष दिने भन्ने छलफल भएको उनले खुलासा गरे । अहिले कुन पार्टीबाट कसलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने भन्ने निर्णय नभइसके पनि सर्वसम्मत राष्ट्रिय सभा अध्यक्ष चुनिने उनको दाबी छ ।