Sunday, August 9

८ वटा संसदीय समितिको बैठक बस्दै आज

नेपालअखबार, काठमाडौँ । आज एकै पटक ८ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधिसभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिको बैठक बस्न लागेको हो ।

Advertisement

आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० (मस्यौदा माथि) पेस तथा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आ.व २०७९-८० को वार्षिक प्रतिवेदन माथि छलफल हुनेछ ।

Advertisement
Advertisement

दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ भने बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

Advertisement

राष्ट्रिय सभा अन्तर्गतको समितिहरूमा बिहान ११ बजे दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा नागढुंगा सुरुङमार्ग निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा स्थानीय तहको कानुन निर्माण प्रक्रियाको अध्ययनको मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

त्यस्तै बिहान १० बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित प्रत्यायोजित विधायन र सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ । दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोर्हौ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल हुनेछ ।