Tuesday, November 4

अवरूद्ध उत्तर–दक्षिण कोशी राजमार्ग पुनः सञ्चालन

नेपालअखबार, सङ्खुवासभा। सुख्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ। खाँदबारी–किमाथाङ्का सडक दुई दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए।

Advertisement

सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुख्खा पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो। त्यस सडक तिब्बतको चाँगा र देन्दासँग जोडिन्छ। पहिरो खसेपछि उत्तरी क्षेत्रका भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानीमा समस्या थियो ।

Advertisement

सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने बस, बोलेर गाडी र दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका थिए। त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेला–बेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ। शनिबार बिहान सडक खन्दै गरेका बेला पहिरो खस्दा स्काभेटरका सहचालक घाइते समेत भएका थिए। रासस