Saturday, May 23

आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा कामीरिता

नेपालअखबार, काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरेका हुन् ।

विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले  सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् ।  कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।

Advertisement

कामीरिताले सन् २०२३ मा २८ र २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।  त्यसअघि सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण  गरेको कीर्तिमान छ ।