Wednesday, September 2

सरकारबाट फिर्ता हुने जसपा नेपालको निर्णय

नेपालअखबार, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ। आइतबार आकस्मिक रूपमा बसेको जसपा नेपाल कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो।  यद्यपि त्यो निर्णय सार्वजनिक गरिएको भने छैन ।

Advertisement

मधेस प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिए लगत्तै जसपा नेपालले केन्द्रीय सरकारबाट फिर्ता हुने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।  उनले भने, ‘मधेस प्रदेशमा जसरी माओवादी र एमालेले गरेका गरेका छन् । त्यसरी नै हामीले पनि केन्द्रमा निर्णय गरेका छौँ । सरकारबाट समर्थन फिर्ता लिने निर्णय भइसकेको छ।’

Advertisement
Advertisement

मधेस प्रदेशमा जसपा नेपालले सरकारको नेतृत्व गरेको छ। सो सरकारबाट माओवादी र एमालेले आजै समर्थन फिर्ता लिएका छन् । सङ्घीय सरकारमा जसपा नेपालबाट सो पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री छन् । जसपा नेपाल विभाजन भएपछि यसरी राजनीतिक घटनाक्रम अगाडि बढेको हो।

Advertisement

अध्यक्ष यादवले आजै सरकारका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए।

भेटघाटका क्रममा यादवले मधेस प्रदेश सरकारका बारेमा कुराकानी गरेका थिए । तर माओवादी र एमालेले यादवको कुरामा सहमति नजनाएपछि राजनीतिक घटनाक्रम अगाडि बढेको हो ।

जसपा नेतृत्वको मधेस सरकारबाट माओवादी र एमाले फिर्ता भइसकेपछि त्यहाँ अर्को गठबन्धन बनिसकेको छ । सो गठबन्धनमा एमाले, माओवादी, लोसपा र जनमत रहेका छन् ।

नयाँ गठबन्धनले अर्को सरकार बनाउने बुझिएको छ । एमाले र माओवादी बाहिरिएलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । यद्यपि मुख्यमन्त्री यादव अल्पमतमा परिसकेका छन् ।