Monday, May 11

सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्न आवश्यक ः मन्त्री गुरुङ

नेपालअखबार, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथिको छलफलमा उनले नेपाल टेलिभिजनको आजसम्मको जे जस्तो गतिविधि छ त्यसका सुधार नगरीकन उद्देश्य पूरा गर्न नसकिने बताए । उनले सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

Advertisement

उनले भने,‘नेपाल टेलिभिजनको आजसम्म जे जस्तो गतिविधि छ । त्यसका सुधार नगरीकन उद्देश्य पनि पूरा गर्न नसकिने भयो । सार्वजनिक सेवा प्रसारणको नीतिको संशोधन गर्नुपर्ने छ ।  आधुनिक प्रविधिको विकास भइसक्यो त्यसैले यो त्यही अनुसार चल्न सक्नुपर्‍यो त्यसैले पनि यो संशोधनमा ल्याएको हो ।’

उनले सार्वजनिक सेवा प्रसारण संस्थाहरू खोल्दा नितान्त सेवाको लागि मात्र खोलिएको भए पनि निजी क्षेत्र पनि समावेश भएसँगै प्रतिस्पर्धामा जान नसकेको बताए ।

सरकारी सेवाको लागि गठन गरेको संस्था राम्रोसँग सेवा पुर्‍याउन नसक्ने र प्रतिस्पर्धामा पनि जान नसक्ने र व्यावसायिकताको पनि विकास गर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे ।