Monday, April 20

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा क्षति

नेपालअखबार,काठमाडौँ ।  अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा क्षति पुर्याएको छ ।

माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि विद्युत् उत्पादन समेत बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोका (गेट)हरु खुला गरिएको छ ।  बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट) मा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।

Advertisement

आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि।का प्रमुख कार्यकारी अधिकृत (सीइओ) मोहन गौतमले विद्युतगृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलाहरुमा बाढी आएका कारण कोही पनि त्यहाँसम्म पुग्न नसकेको बताए ।
गौतमले पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुर्याएको अनुमान गरिएको उल्लेख गरे । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा, लेदो थुप्रिएको छ ।

तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो । अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युमेक छ । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बामोजिम नदीमा पानीको बहाव २५० क्युमेक हुनासाथ

विद्युत्गृह बन्द गर्नु पर्ने छ । शुक्रबार दिउँसो ४ बजेपछिबाट पानीको बहाव २५० क्युमेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्ण रुपमा बन्द गरिएको थियो ।