Monday, July 6

शिक्षा मन्त्रालयले तय गर्‍यो : कर्मचारीको सरुवा गर्न६ वटा सैद्धान्तिक आधार

नेपालअखबार,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीहरूको सरुवा तथा पदस्थापनका लागि विभिन्न ६ वटा सैद्धान्तिक आधारहरू तय गरेको छ । शिक्षामन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत राजपत्राङ्कित द्वितीय श्रेणी र सो भन्दा मुनीका कर्मचारीको पदस्थापन तथा सरुवा एवम् काज खटाउने सम्बन्धी आधार तय गरेकी हुन् ।

Advertisement

कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउने सम्बन्धी मापदण्ड २०८० बमोजिम गरिने मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

त्यस्तै तल्लो पदमा पदाधिकार रही माथिल्लो पदको कुनै विशेष जिम्मेवारीमा रहेका बाहेक एउटा निकायमा सामान्यतया दुई वर्ष भन्दा बढी अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने तथा काजमा खटाउने भएको छ ।

Advertisement

त्यस्तै अन्य निकायमा दरबन्दी रही शिक्षा मन्त्रालय र अन्तर्गतका निकायमा कामकाज तथा काजमा खटिएका कर्मचारीलाई सम्भव भएसम्म जिल्लास्तरका कार्यालयहरूमा वा अन्य मन्त्रालय तथा निकायमा कामकाज गर्न खटाउने समेत निर्णय गरिएको छ ।

मन्त्रालय मातहतका निकायबाहेक अन्य निकायमा सरुवा तथा कामकाज गर्न खटाउन तथा त्यस्ता निकायहरूबाट शिक्षा मन्त्रालय अन्तर्गतका निकायमा सरुवा तथा काज सरुवा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति लिइनेछ।

त्यस्तै दुर्गम जिल्लामा कार्यरत रहेका एवम् अन्यत्र सरुवा भई जान निवेदन नदिएका वा त्यस्ता जिल्लामा सरुवा भई जान अन्य कर्मचारीको निवेदन नपरेको हकमा अवधि पुगेको भएतापनि सो जिल्लाबाट सामान्यतया सरुवा नगर्ने समेत निर्णय गरेको छ ।

त्यस्तै अपाङ्गता भएका, गर्भवती, सुत्केरी महिला, दीर्घरोगी, अवकाश हुन एक वर्ष भन्दा कम अवधि भएका र परिवारका सदस्यहरू गम्भीर बिरामी अवस्थामा रहेका जस्ता विशेष परिस्थिति भएका कर्मचारीहरूको हकमा निजको सहजतालाई ख्याल गरी निर्णय गर्न सकिने मन्त्रालयले जनाएको छ ।