
नेपालअखबार,काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो।तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।
हाल फैसला भएको मुद्दा २०६१ को घटनाको हो । गुन्डा नाइके रहेका मनाङेले अर्का गुन्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङमाथि तरबार आक्रमण गरेका थिए । उक्त आक्रमणमा मिलन गुरुङको हात काटिएको थियो ।
उक्त घटनामा संलग्न मनाङे समूहविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दा नभई कुटपिटको मुद्दा ठहर गरी मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो ।
जिल्ला अदालतको उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै ज्यानमुद्दा ठहर गरी मनाङेलाई ५ वर्ष जेल सजाय हुने ठहर गरेको थियो । त्यसपछि मनाङे फरार भएका थिए ।२०७५ वैशाखमा पक्राउ परेका मनाङे जेल चलान गरिएका थिए । त्यतिबेलासम्म उनी गण्डकी प्रदेश सभाको सदस्यमा निर्वाचित भइसकेका थिए । उनी २०७४ को निर्वाचनमा मनाङ-२ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।
उक्त मुद्दामा मनाङे २ वर्ष जेल सजाय काटिसकेका छन् । अब उनी ३ वर्ष जेल जानुपर्नेछ । उनी २०७९ को निर्वाचनमा पनि मनाङेबाटै गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।


