
नेपालअखबार,दमास्कस । सिरियामा २४ वर्षदेखि शासन गर्दै आएका राष्ट्रपति बशर अल असदलाई सत्ताच्युत गरेको केही घण्टापछि नै छिमेकी देश लेबनान र जोर्डनबाट सिरियाली नागरिक फर्किन थालेका छन् । आइतवार अनलाइन र सामाजिक सञ्जालहरूमा यी दुई देशबाट सिरियाली नागरिकहरू सिरियाको सीमामा प्रवेश गरिरहेको देखिने कयौं तस्बिरहरु बाहिर आएका थिए । लेबनान–सिरियाको सीमामा मसना क्रसिङमा दर्जनौं कारहरू सिरिया छिर्न लाइनमा उभिएका देखिएका थिए । भीडले बशर अल–असदको विरुद्धमा नारा लगाएको सुनिएको थियो । जोर्डनको सीमामा पनि मान्छेको भिड थियो । ‘म जोर्डनमा १२ वर्षदेखि बसिरहेको छुँ । बशर अल–असदको सरकार पतन भएको खबर सुनेपछि हामी भावुक भयौं । अब हामी आफ्नो देशमा सुरक्षिको साथमा फर्किन सक्छौं ।’
जाबेर क्रसिङमा एक व्यक्तिले भनेको भन्दै समाचार एजेन्सी रोयटर्स आफ्नो समाचारमा उद्धृत गरेको थियो । सीमामा देखिएका अधिकांश कारमा सामानको भारी थिए । सीमामा मानिसहरू आफ्नो झोली तुम्बा बोकेर उभिरहेका देखिएका थिए ।

