
नेपालअखबार,वासिङटन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् । शपथ ग्रहण अघि पनि ट्रम्प निकै सक्रिय देखिएका छन् । मेक्सिको र क्यानडा जस्ता देशहरूमाथि उनले उच्च भन्सार महसुल लगाउने कुरा गरेका छन् । अतिरिक्त महसुल वृद्धिको कुरामा उनी धेरै गम्भीर देखिएका छन् । सीएनएनमा छापिएको खबरका अनुसार, ट्रम्पले जनवरी २० मा बाह्य राजस्व सेवा नाम गरेको नयाँ सरकारी विभाग सुरु गर्दैछन् ।
यो विभागको काम विदेशबाट हुने आम्दानी र शुल्कको समयमै असुली हुनेछ । यस विभागले भन्सार, महसुल र विदेशी स्रोतबाट हुने अन्य आम्दानी असुल गर्नेछ । व्यापार असन्तुलन, बसाइँसराइ र लागूऔषध तस्करी जस्ता समस्याहरू समाधान गर्न क्यानडा, मेक्सिको र चीन जस्ता देशहरूमाथि दबाब दिन यो विभाग गठन गरिएको ठानिएको छ । यसबाहेक पनि ट्रम्पले चीनलगायत अन्य धेरै देशका उत्पादनहरूमा पनि कर बढाउने योजना पनि बनाएका छन् ।
चाँडै नै अन्य देशहरूबाट आयात गरिने सामानहरूमा समेत ट्रम्पले कर बढाउने घोषणा गर्न सक्ने बताइएको छ । यसअघि ट्रम्पले खर्बपति व्यवसायी एलन मस्क र भारतीय मूलका विवेक रामास्वामीलाई सरकार दक्षता विभाग (डज)को जिम्मेवारी दिएका थिए । यो विभागको काम धेरै पुराना नीति र समितिहरूको खारेज गर्नु र सारा संघीय संरचनामा आवश्यक परिवर्तन गर्नु हुनेछ ।

