Tuesday, May 12

पोखरा महोत्सवमा दर्शकको भीड बढ्दै

नेपालअखबार,पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड बढेको छ । महोत्सवको दशौं दिन महोत्सव स्थल संगै दर्शकको भीड अमरसिंह चोक देखि महोत्सव स्थल सम्मको सडक भरिएको थियो । दर्शकको भीड लाग्दा महोत्सव आयोजकलाई समेत दर्शकलाई सम्हाल्न गाह्रो परेको थियो । शनिवार दिउसो मात्र नभई सांझको कन्सर्टमा समेत युवाहरुको बाक्लो उपस्थिती रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

शनिवार दर्शकको बाक्लो उपस्थिती संगै महोत्स्व स्थलमा राखिएको स्टलहरुमा समेत उल्लेख्य कारोबार भएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवमा विशेष गरी घरायसी सामाग्री, लत्ता कपडा, श्रृङ्गारका सामाग्री, जाडो मौसमका सामाग्री, कृषिका सामाग्री संगै तरकारी लगायतका सामाग्रीको ब्यापार वढेको आचार्यले बताए ।

Advertisement

महोत्सवको दशौं दिन लोक दोहारी कलाकार शान्तारानी परियार, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, राजन कार्की, तुलसा क्षेत्री, शिवहरी ढुंगाना, माया गुरुङ, बत्ती थापा मगर लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टमा युवाहरु माझ चर्चित भीटेनको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।

महोत्सवको एघारौं दिन रचना रिमाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, कृष्णा गुरुङ, सरस्वती लामिछाने, तुलसा क्षेत्री, सुरेश भुर्तेल, सुनिमा गुरुङ, केश बहादुर गुरुङ लगायतको पस्तुती रहने छभने सांझको लाइभ कन्सर्टमा पूर्ण राई एण्ड दाजुभाइको प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

शनिवार सम्पन्न विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा विभुति शिक्षा सदन उत्कृष्ट प्रस्तुती र सरस्वती विद्या सदन लामाचौर वाइल्ड कार्ड इन्ट्री मार्फत फाइनलमा प्रवेश गरेको हो ।
महोत्सवको अन्तिम दिन सोमबार सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, बिभुती र सरस्वती विद्या सदन लामाचौर बीच फाइनल प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।