
नेपालअखबार, रूकुम। रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यो वर्ष अदुवा उत्पादन र विक्री दुबै बढेको छ। गत वर्षभन्दा यो वर्ष अदुवाखेति गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन बढेको हो ।
जहाँ करिब छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार अदुवा बिक्रीबाट किसानले पाँच करोड ९२ लाख आम्दानी गरेका छन् । दश वटा वडा रहेको त्रिवेणीमा एक हजार नौ सय ५० परिवारले अदुवाखेती गर्दै आएका छन् ।
प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएका पुनले बताउनुभयो । पालिकाभर हाल एक सय ९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको उनले जानकारी दिए ।
कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यो वर्ष १५ हजार छ सय क्विन्टल अर्थात् १५ दशमलव छ मेट्रिकटन अदुवा उत्पादन भएको छ । किसानले प्रतिक्विन्टल रू तीन हजार आठ सयभन्दा बढी मूल्यमा अदुवा बिक्री गरेका उनले उल्लेख गरे ।
गएको आर्थिक वर्षमा पालिकामा दुुई हजार छ सय परिवारले अदुवाखेति गर्दै आएकामा यो वर्ष सो सङ्ख्या छ सय ५० ले घटेरको प्रमुख पुनले बताए । व्यापारी गाउँमा पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
व्यवसायिक रूपमा अदुवाखेती गर्दै आउनुभएका त्रिवेणी–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख आम्दानी गरेको बताए । २० वर्षदेखि अदुवाखेतिमा लागेका उनले निरन्तर खेती गर्दा मौसममा दुई लाखसम्म आम्दानी हुने जानकारी दिए ।
त्रिवेणी–६ बाँठाकोटका कृषक कमलप्रसाद घर्तीले यस वर्ष अदुवा उत्पादन र मूल्य दुवै राम्रो पाएको बताए । अदुवा गाउँबाटै प्रतिक्विन्टल पाँच हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल १२ हजारसम्ममा बिक्री हुने गरेको जानकारी उनले दिए ।
‘पहिले एक क्विन्टल अदुवाबाट पाँच क्विन्टलसम्म उत्पादन हुन्थ्यो, अहिले उत्पदान घटेर तीन क्विन्टलसम्म हुन्छ । मौसममा आएको परिवर्तन, मल अभावलगायत कारणले उत्पादन घटेको हुनसक्छ”, उनले भने । घर्तीले अदुवाका साथै सुन्तला र किभीको पनि खेती गर्दै आएका छन् ।

