Friday, July 10

बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तला उपहार, सुन्तलाकै माला

नेपालअखबार ,म्याग्दी ।  म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ।

Advertisement

महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो।

Advertisement
Advertisement

बाँसखर्कको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले जलजला गाउँपालिका र वडा नं १ को कार्यालयले महोत्सव आयोजना गरेको वडा अध्यक्ष जगबहादुर रोकाले बताए।

Advertisement

महोत्सवको अवसरमा अगुवा कृषक जगतबहादुर खत्री, शान्तबहादुर छिन्तेल र हेमकुमार अर्मजा, तेजबहादुर खत्री र नरबहादुर पाइजालाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो।

अतिथिलाई सुन्तलाको माला लगाएर स्वागत र सुन्तलानै उपहार दिएर बिदाइ गरिएको थियो । आमा समूहले सुन्तला खेतीसम्बन्धी भजन र गित प्रस्तुत गरेका थिए।

पाखाभरी लटरम्म फलेका सुन्तला पाकेर पहेलपुर बनेको बाँसखर्कमा भएको सुन्तला महोत्सवले कृषि पर्यटन प्रवर्द्धन र मौलिक लोक संस्कृतिको संरक्षणमा पनि सहयोग पुगेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।

महोत्सवमा सहभागि हुन आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल, राष्ट्रियसभा सदस्य मनरुपा शर्मा, प्रदेश सांसद भक्त कुँवर, रेखा गुरुङ, गण्डकी प्रदेशका प्रमुख सचिव राघुराम बिष्ट र कृषि सचिव वासुदेव रेग्मीसँग सडक, सिँचाइ, खानेपानी र पहिरोको विषयमा कृषक तथा जनप्रतिनिधीले ध्यानाकर्षण गराए।

‘सिँचाइको समस्याले सुन्तला खेती विस्तार, पहिरोका कारण सुन्तला फार्मसहित बस्ति जोखिममा परेको र कच्चि सडकबाट बाँसखर्कको सुन्तला ढुवानी गर्दा थिच्चिएर नष्ट हुने समस्याको बारेमा राज्यको माथिल्लो निकायमा रहेका पदाधीकारीलाई प्रत्यक्ष ल्याएर देखाएका छौँ,’ गाउँपालिकाका अध्यक्ष आचार्यले भने, ‘विद्युतको समस्याले आठ वर्षअघि निर्माण भएको चिस्यानगृह सञ्चालन गर्न नसकिएको विषयमा पनि महोत्सवमा सहभागि हुन आएका अतिथिको ध्यानाकर्षण गराएका छौँ।’

बेनीदेखि बाँसखर्क जोड्ने छोटो दुरिको बगरफाँट–बाँसखर्क सडक योजनाको ठेक्का लागेपनि आठ वर्षसम्म काम नभएको र योजना नै हराएको विषयमा अध्यक्ष आचार्यले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । घरघरमा धारा निर्माण र मिटर जडान भएपनि खानेपानी वितरण हुन नसकेको समस्याका बारेमा जानकारी गराए।

मल्लाज सिँचाइ आयोजनामा नियमित पानी चलाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग समन्वय गर्नुपर्ने र बाँसखर्कको सुन्तला बगैँचामा सिँचाइ गर्न पाइपलाइनको ब्यवस्था मिलाउन आग्रह गरे।

मुख्यमन्त्री पाण्डे, मन्त्री र सांसदले बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिँचाइ सुविधा, सुन्तला खेती विस्तार र बजारीकरणमा सघाउने प्रतिवद्धता जनाए।

कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताउदै मुख्यमन्त्री पाण्डेले बसाईसराई रोकिने, कृषि उपज उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरी सडक, सिँचाइ र खानेपानीका पूर्वाधारका योजना सञ्चालन गरेको बताए।

‘सुन्तला ढुवानीका लागि तपाईहरुले ब्यहोर्दै आइरहेको समस्यालाई हामी छिट्टै सम्बोधन गर्नेछाँ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यस वर्षपनि जलजला गाउँपालिकाको विभिन्न पूर्वाधार योजनाका लागि प्रदेश सरकारले रु ११ करोड बजेट बिनियोजन गरेको छ।’

कृषिमन्त्री श्रेष्ठले सुन्तला खेती विस्तार र बजार प्रवर्द्धनका लागि बाँसखर्कलगायत जलजला गाउँपालिकामा पहाडी काष्ठफल विकास परियोजना (नाफा) लागू भएको र सो मार्फत कृषकलाई विभिन्न शिर्षकमा अनुदान दिइने बताए। पर्यटनमन्त्री बस्यालले बाँसखर्कलाई कृषि पर्यटनको गन्तव्य बनाउन पहल गर्ने प्रतिवद्धता जनाए।

समुन्द्रि सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाइमा फैलिएको दुई सय ३९ घर रहेको बाँसखर्कको धेरैले सुन्तला खेती गरेका छन् । एक हजार पाँच सय रोपनी क्षेत्रफलमा सुन्तला खेती भएको बाँसखर्कमा यस वर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको महोत्सवमा अगुवा कृषक मेखबहादुर खत्रीले जानकारी गराए।

‍उनका अनुसार एक जना कृषकले वार्षिक रु चार लाखदेखि ३५ लाख बराबरको सुन्तला बिक्री गर्छन् । बाँसखर्कका कृषिकले अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघ महिनादेखि सुन्तला टिप्न थालेका छन् । बाँसखर्कमा खेती हुने सुन्तलालाई रैथाने जात प्रमाणित गरिएको छ ।