Saturday, May 9

सुन्दर बजारबाट बसाइँसराइ गर्नेको संख्या बढ्यो

नेपालअखबार,लमजुङ। लमजुङको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका एक सय ९८ जना यहाँबाट अन्यत्र बसाइँ सरेका हुन्।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआइएस अपरेटर सन्तोष पोख्रेलले गत आवमा २८ परिवारका ९३ जना बसाइँ सरेकामा चालु आवको चैतसम्म त्यो सङ्ख्या दोब्बरले बढेको जानकारी दिए।

Advertisement

उनका अनुसार नगरभित्र पनि अन्यत्रबाट बसाइँसराइ गरी आउनेको सङ्ख्या बढेको छ।

गत आवमा १३ परिवारका २७ जना सुन्दरबजार आएका थिए भने चालु आवको चैत मसान्तसम्म ३९ परिवारका एक सय २० जना नगरमा बसाइँसराइ गरी आएका पोख्रेलले उल्लेख गरे।

११ वडा रहेको सुन्दरबजार नगरपालिकाका केही वडामा बजार विस्तार तीव्र गतिमा भइरहेका छन् भने केही वडा अझै ग्रामीण र दुर्गम अवस्थामा छन्।

ग्रामीण वडाबाट बजार क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दो रहेको पोख्रेलले बताए। बजार क्षेत्रबाट ठूला सहरतर्फ बसाइँसराइको गति तुलनात्मक रूपमा केही कम रहेको उनको भनाइ छ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी सुन्दरबजार–३ बाट १४ परिवारका ४१ जना र सबैभन्दा कम वडा नं ५ र १० बाट दुई-दुई परिवारका छ-छ जना बसाइँ सरेका पोख्रेलले जानकारी दिए।

बसाइँसराइ बढ्नुका मुख्य कारण शिक्षा, स्वास्थ्य, रोजगारी र लगानीको खोजी रहेका नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विवेककुमार पण्डितले बताए।

‘बसाइँसराइ रोक्ने स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्नु, प्राविधिक शिक्षालय सञ्चालन तथा लगानीको वातावरण बनाउनेतर्फ पालिकाको प्राथमिकता हुनुपर्छ,’ उनले भने।

नगरप्रमुख कृष्णप्रसाद कोइरालाले सुन्दरबजारबाट बाहिरिनेको सङ्ख्या भित्रिनेको भन्दा बढी हुनु नगरका लागि चिन्ताको विषय बनेको बताए।

‘पालिकाले रोजगारी तथा सेवा प्रवाह सहज हुने कार्यक्रम लागू गरिरहेको छ । बसाइँसराइको कारण पहिचान गरी समाधानको उपाय अवलम्बन गर्दै अगाडि बढ्नेछौं,’ उनले भने।

उनका अनुसार आर्थिक सम्पन्नता, शिक्षा, स्वास्थ्य उपचार, रोजगारी, व्यापार व्यवसाय, पारिवारिक सम्पर्कलगायत विविध कारणले नगरवासी ठूला सहरतिर बसाइँ सरिरहेका छन्।