
नेपालअखबार,काठमाडौँ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक सक्रियता जारी राखेका छन् । उनले आइतबार एकीकृत समाजवादीको वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गरे । उनले पतञ्जलि जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरे ।
‘अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अनुसन्धान हुँदै जाला । मैले अनुसन्धान हुनुहुँदैन भनेको छैन । म सुशासनको पक्षपाती हुँ तर, मैमाथि यो किसिमको आरोप लागेको छ र यसको कानुनी उपचार हुन्छ,’ उनले भने, ‘हाम्रा कानुनका जानकार साथीहरुले एक हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गर्दै हुनुहुन्छ ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बदलाको भावनाले चलेको बताए । ‘वर्तमान सरकार बदलाको भावनाबाट सञ्चालित छ । हामीले भनेका छौं, सरकार यो वा त्यो बहानामा बदला लिने उद्देश्यले सञ्चालित नहोस्,’ उनले भने, ‘अर्को कुरा कार्यकर्तालाई झोले बनाउने काम पनि नगर्नुहोस् । असली कार्यकर्ता उत्पादन गर्नुहोस्, झोले होइन । ओलीजीले बदलाको राजनीति छोड्नुपर्छ । हामीले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा वकालत गर्दै आएका छौं । सरकारलाई हामी खबरदारीसमेत गर्दै आइरहेका छौं ।’

