Monday, May 11

पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश

नेपालअखबार,काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

आफूमाथि जारी भएको पक्राउ पुर्जीविरूद्ध पाठक आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए। उक्त रिटमा सुनुवाइ गर्दै सोमबार न्यायाधीश ऋषिराज भण्डारीले अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन्।

Advertisement

यस्तै, दुबै पक्षलाई अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफलका लागि असार ५ गते बोलाएको छ।

‘निवेदकको गम्भीरतालाई विचार गरी निवेदक दिलभूषण पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) क बमोजिम विपक्षीहरूका नाउमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।

अर्को आदेश जारी नहुञ्जेलसम्म अल्पकालीन अन्तरिम आदेश अनुसार उनलाई प्रहरीले पक्राउ गर्न नसक्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए।

‘यो आदेशले अहिलेलाई प्रहरीले पक्राउ गर्न सक्नेछैन,’ उनले भने। यस विषयमा पाठकको निवेदन बमोजिम आदेश किन जारी हुनुनपर्ने भनेर लिखित जवाफ समेत माग गरेको छ।

‘यस विषयमा के कसो भएको हो? निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित सूचनाको मितिले बाटाको म्याद बाहेक १५ दिनभित्र उच्च सरकारी वकिलको कार्यालय पाटन मार्फत लिखित जवाफ पेस गर्नू भनी आदेश,’ आदेशमा भनिएको छ।

पत्रकार पाठकविरूद्ध जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

पाठकले हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई जोडेर भिडिओ रिपोर्ट सार्वजनिक गरेका थिए। ‘टफ टक’ नामक युट्युब च्यानलमार्फत झन्डै चार साता अघि पाठकले उक्त भिडिओ सार्वजनिक गरेका थिए।

त्यसविरूद्ध उजुरी परेपछि ब्युरोको आग्रहमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो।

जिल्ला अदालतले कार्यक्षेत्रबाहिर गएर पक्राउ पुर्जी जारी भएको भन्दै  विरोध पनि भएको थियो।

patra-1750075827.jpg