Sunday, May 24

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन विधेयक, २०८२) पारित भएको छ ।

सभाको शनिबारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो।

Advertisement

उक्त विधेयक पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जबाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको विषयमा संविधान, कानून र सरकारको धारणा स्पष्ट रहेको बताए।

उनले नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् र पाउनु नपर्ने व्यक्तिले नागरिकता नपाओस् भन्ने विषयमा सरकार गम्भीर रहेको बताए।

उनले संविधानले गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसका लागि छुट्टै कानून निर्माणको तयारीमा सरकार जुटेको पनि बताए।

उनले भने, ‘नेपाली नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस्। र पाउन नपर्ने मानिसले नागरिकता नपाओस् भन्ने कुरमा संविधान, कानून र सरकार स्पष्ट छ। नागरिकता अत्यन्त संवेदनशील विषय हो। नेपालको नागरिकता पाउनुपर्ने मानिसले नागरिकता पाउनुपर्छ, पाउन नुहने मानिसले पाउनुहुन्न। यसका विषयमा दुविधा हुन सक्दैन। संविधानले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ। उनीहरूले प्राप्त गर्ने नागरिकता पनि आफैमा नागरिकता हो। हामीले अरू नागरिकताका बारेमा पनि केही सीमाहरू तोकेका छौँ। गैरआवासीय नागरिकता प्राप्त गर्ने मानिसले नेपालमा आर्थिक, सामाजिक र आर्थिक अधिकार प्रयोग गर्न पाउने भनेर व्यवस्था गरेको छ।’

नागरिकताको विषयमा रहेका विवाद र समस्या समाधान गर्नको लागि सरकारले नागरिकता विधेयक संशोधन गरेको हो।