Friday, August 7

नेपालमा लगानी गर्न ऊर्जामन्त्री खड्काको आग्रह

नेपालअखबार, काठमाडौं । चीनमा रहेका नेपाली समुदायलाई स्वदेशमा ऊर्जा लगायत क्षेत्रमा लगानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आग्रह गरेका छन् ।

Advertisement

हाल चीन भ्रमणमा रहेका मन्त्री खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्ट अवलोकनका क्रममा सम्बोधन गर्दै लगानी सुरक्षाको जिम्मा सरकारले लिने बताए ।

Advertisement
Advertisement

नेपाल जलस्रोतको अपार सम्भावना बोकेको मुलुक भएकाले ऊर्जा क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै मन्त्री खड्काले भने, ‘जो जहाँ भए पनि नेपालीको माया नेपालमै हुन्छ। सरकारले लगानीको वातावरण निर्माण गरिसकेको छ । अब हामी सबै मिलेर देशको विकासमा जुट्नुपर्छ ।’

Advertisement

मन्त्री खड्काले सरकारले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको र त्यसमध्ये १५ हजार मेगावाटभन्दा बढी बिजुली भारत लगायत तेस्रो मुलुकमा निर्यात गरिने सुनिश्चित भइसकेको जानकारी दिए ।

त्यसैगरी हाल नेपाल बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गरिरहेको र आगामी वर्ष उक्त परिमाण बढाएर ५ हजार मेगावाट पुर्‍याउने समझदारी भएको समेत बताए ।

ऊर्जामन्त्री खड्काले संसद्मा छलफल क्रममा रहेको जलस्रोत तथा विद्युत विधेयक चाँडै पारित गराउने प्रतिबद्धता व्यक्त गर्दै नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण सिर्जना गरिन लागेको प्रष्ट पारे । उनका अनुसार उर्जा विकास मार्गचित्र–२०८१ सार्वजनिक गरेर मुलुकको विकासका लागि सरकार स्पष्ट नीति र कार्ययोजना सहित अघि बढिरहेको छ ।

भेटका क्रममा नेपाली समुदायका प्रतिनिधिले विगतका अनुभव स्मरण गर्दै सरकारले लगानी सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले ऊर्जा क्षेत्रमा सरकारले देखाएको स्पष्ट दृष्टिकोण र मन्त्री खड्काको पहलको प्रशंसा गर्दै सहकार्यका लागि आफूहरू तयार रहेको बताए ।

नेपालको ऊर्जा क्षेत्रमा भएका दीर्घकालीन योजनाका कारण छिट्टै आर्थिक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्दै मन्त्री खड्काले नेपाली समुदायलाई नेपालमै लगानी गर्न पुनः आह्वान गरे ।