Tuesday, April 21

सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकोप्रति आपत्ति : शेखर कोइराला

नेपालअखबार, काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले किसानप्रति सरकारको सोच नै गलत रहेको बताएका छन् । शनिबार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको बताएका हुन् ।

उनले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकोप्रति आपत्ति जनाए । मन्त्रीहरूलाई विदेश भ्रमण जान चार पटक जति रोके डेढ अर्ब पैसा तत्काल निस्किने उनको भनाई छ ।

Advertisement

उहाँले भन्नुभयो, ‘अब छिटो भन्दा छिटो नेपाली काँग्रेसको नेतृत्व सभापतिजीले नै लिनुहुन्छ । लिएर अगाडि बढ्नुहोस् । सकारात्मक सोचबाट हामी अघि बढौँ । हामी सक्छौँ । हाइड्रो पावरमा हामीले ध्यान दिनुपर्छ । यो सामान्य खेती गरेर मात्रै हुँदैन, तपाईंहरुलाई लाग्ला यसले बढी बोल्यो भनेर तर म अहिले पनि २० बिगाह उखु लगाउँछु । २० बिगाह छ मेरो । यो सरकारको सोच कति गलत छ हेर्नुस् । सभापतिजीलाई थाहा नै छैन । २५ वर्षदेखि सुगर किन्न अनुदान दिइरहेको थियो । उखु किसानलाई । यस पटक अनुदान छैन, किनभने सरकारसँग पैसा छैन । जम्मा डेढ अर्ब लाग्थ्यो । मन्त्रीहरू विदेश गएको गई देख्छु । दुई चार पटक मन्त्रीहरू विदेश नगइदिए त डेढ अर्ब त यहीँ उठिहाल्छ । यस्तो सोच राखौँ । आम किसानलाई त दिनुपर्छ । किसानलाई नयाँ टाइपले हेर्नुपर्छ ।’

सांसद कोइरालाले अहिले नेपालमा केही पनि भएन, केही गरेनन् भन्ने भाष्य निर्माण गरिएको बताए । गर्न सकिँदैन भन्ने नभई हामी सक्छौँ भन्ने सोच बनाउन जरुरी रहेको उनले जिकिर गरे ।