Saturday, June 27

नेताहरूको नाममा प्रतिष्ठानहरू स्थापना गर्ने र पछि व्यक्तिहरुले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने : प्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले नबनाएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

Advertisement

उनले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरू सामूहिक संस्था हुनुपर्ने उनको भनाइ थियो ।

‘पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । मनमोहन प्रतिष्ठान पार्टीले नै बनाएको हो । अरु प्रतिष्ठानहरू पनि हामीले, पार्टीले बनाएका छौँ । कतिपय पार्टीले गर्दछ, कतिपय व्यक्तिका हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो खालको परिपाटी छ । त्यो हुनु हुँदैन । हाम्रा संस्थाहरू एकदमै सामूहिक संस्था हुनुपर्छ । मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन । आफैं बनाएको हो ।’

मदन—आश्रित स्मृति मनाउन नपाइने स्थिति बनेपछि फाउन्डेशन स्थापना भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘जतिबेला मदन—आश्रित स्मृति मनाउन नपाइने स्थिति बन्यो, त्यतिबेला श्रद्धाञ्जली दिन नपाइने स्थिति बन्यो, जन्मदिन मनाउन नपाइने स्थिति बन्यो,’ ओलीले भने, ‘पर्सि जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेखहरू लिडरसिपबाट लेखिने र प्रकाशित भए । त्यसो भएर एउटा संस्था बनाउनुपर्छ भनेर मदन भण्डारी फाउण्डेशन जन्मिएको हो तर त्यो पार्टी, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको होइन ।’

नेताहरूको नाममा प्रतिष्ठानहरू स्थापना गर्ने र पछि व्यक्तिहरुले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘पार्टीले नै पुष्पलाल प्रतिष्ठान स्थापना गर्‍यो, पहिला पहिला प्रधानमन्त्री भएपछि भ्याउँदिन भनेर, एउटाबाट अर्कोमा चेन्ज गर्ने । सधैँ त्यो गुठी केही व्यक्तिहरुले त्यो पद छोड्दै नछोडेर, अनि त्यसलाई माध्यम बनाएर त्यहाँ काम गर्नेहरुलाई समर्थकको रुपमा राख्ने, बहुमत लिइराख्न आफूसँग लिने, त्यसलाई नियन्त्रण गर्ने,’ ओलीले अघि भनेका छन्, ‘त्यो संस्था कब्जाभित्र त्यो एउटा आन्दोलनको पक्षमा, विचारको पक्षमा, परिवर्तनको पक्षमा निष्ठासाथ लाग्ने संस्था होइन की व्यक्तिको ठगी खाने भाँडो हुने की पार्टीप्रति निष्ठा हुने आन्दोलनप्रति निष्ठा होइन ।’