Saturday, April 18

बुवाको सट्टा परीक्षा दिँदै गरेको अवस्थामा छोरा पक्राउ

नेपालअखबार, वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको सट्टा परीक्षा दिँदै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका वडा नं ३ छपकैया बस्ने २५ वर्षीय मोहम्मद अफताब आलमलाई पक्राउ गरिएको हो।

Advertisement

उनले आफ्ना बुवा मोहम्मद शहाबुद्दीन अन्सारीको सट्टामा परीक्षा दिइरहेका थिए। मानविकी संकाय अन्तर्गत राजनीति शास्त्र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा चलिरहँदा आलमलाई पक्राउ गरेको क्याम्पस प्रमुख मोहन यादवले जानकारी दिए।

‘मो. शाहबुद्दीन अन्सारीको नाममा परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छौं,’ उनले भने।

परीक्षार्थीको प्रवेशपत्र जाँच गर्दा प्रवेशपत्रमा भएको फोटोसँग अनुहार नमिलेपछि उनलाई पक्राउ गरिएको हो। उनीहरूविरूद्ध त्रिभुवन विश्वविद्यालय, संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम अनुसार कारबाही गर्ने तयारी छ।

शहाबुद्दीन नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ को क्षेत्रीय सभापति समेत हुन्। उनीविरूद्ध अदालतमा दोहोरो नागरिकताको मुद्दा समेत चलिरहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले क्याम्पस प्रशासनले आवश्यक कारबाहीका लागि पत्र पठाएपछि सोही अनुसार कारबाही गरिने बताए।

त्रिभुवन विश्वविद्यालय, संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० (२०७७/६/१६ सम्मको संशोधन सहित) को दफा २७० मा परीक्षार्थीले आफू सम्मिलित हुनुपर्ने परीक्षामा अरूलाई सम्मिलित गराउन नहुने उल्लेख छ।

अरूलाई सम्मिलित गराएको प्रमाणित भए परीक्षार्थीलाई परीक्षा सञ्चालक समितिले बढीमा ४ वर्षसम्म निष्कासन गर्ने निर्णय गर्न सक्छ।

साथै फौजदारी अभियोगको कारबाही चलाउन स्थानीय प्रशासनलाई जिम्मा लगाउन सक्ने व्यवस्था पनि नियममा छ। त्यस्तो व्यक्तिलाई विश्वविद्यालयको कुनैपनि परीक्षामा ४ वर्षसम्म सम्मिलित हुनबाट वञ्चित गर्न सकिने उल्लेख छ।