Tuesday, April 21

एनसेलले प्रहरीमा दियो सीसीटीभी फुटेजसहित तोडफोड

नेपालअखबार, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले जेनजी प्रदर्शन क्रममा आफ्नो कार्यालयमा भएको तोडफोड, आगजनी र डकैतीविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’ मा २४ भदौमा जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समूहले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना गराएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै एनसेलले सोमबार जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएको हो ।

Advertisement

उजुरीमा यी घटनासँग संलग्न अपराधीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाइ उनीहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति समेत दिलाइ भराइ पाऊँ भनी उल्लेख गरिएको छ ।

आन्दोलनका नाममा अपराधीले समूह बनाइ कम्पनीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई एकै ठाउँमा राखेर जलाउने धम्की दिई उनीहरूलाई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गर्ने कार्य गरेको, भवनको अगाडि भागको सिसा फुटाइ कार्यालयभित्र प्रवेश गरी ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरण तोडफोड तथा आगजनी गरेको, भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समान तोडफोड गरेका, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपूर्जा एवं कार्यालयका महत्त्वपूर्ण अन्य कागजात आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरू समेत लुटेर लगेको उजुरीमा उल्लेख छ ।

एनसेलले आफ्नो कार्यालयको १० वटै तलामा रहेका बहुमूल्य विद्युतीय सामान, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन लगायत कार्यालयको काममा प्रयोग हुने सामान डकैती गरी लगेको, कर्मचारीलाई वितरण गरेको प्रत्येक लकर फोडेर ल्यापटप तथा अन्य व्यक्तिगत सामान तथा गहना डकैती गरेको, मिटिङ हलमा रहेको टीभी, मोनिटर तथा भवनको दोस्रो तलामा रहेको फिटनेसका सामान बाहिर फालेर केही उपकरण आगजनी गरेको पनि उजुरीमा उल्लेख छ ।

यस्तै अधिकांश उपकरण डकैती गरी झिकेर लगेको, कम्पनीका आफ्नै र तेस्रो पक्षबाट भाडामा लिएका महँगा मोटरगाडी भेहिकल रुमबाट गाडीका साँचो नियन्त्रणमा लिई पालैपालो गरी भवनको आँगनमा ल्याई जलाएको र केही सवारीसाधन भवनको कम्पाउन्ड बाहिर बाटोमा ल्याई आगो लगाई पूर्णरूपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडी समेत तोडफोडका साथै आगजनी गरी ठूलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाइएको छ ।

प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची उपलब्ध गराएको छ । साथै, घटना क्रममा कैद भएका सम्पूर्ण सीसीटीभी फुटेज पनि अनुसन्धानलाई सहयोग पुग्ने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको एनसेलले जनाएको छ ।

तोडफोड, आगजनी, डकैतीबाट कम्पनीको सम्पत्तिमा भएको वास्तविक क्षति यकिन गर्न मूल्यांकन कार्य भइरहेको हुँदा अनुसन्धान सिलसिलामा त्यसको थप विवरण उपलब्ध गराउने पनि जानकारी उजुरीमा छ ।