Tuesday, October 28

संसद् पुनर्स्थापना नभई अबको निकास ताजा जनादेश : प्रभु साह

नेपालअखबार, काठमाडौं ।   आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अबको निकास संसद् पुनर्स्थापना नभई ताजा जनादेश भएको बताएका छन् ।

Advertisement

बुधबार पत्रकार सम्मेलनमार्फत वर्तमान विषम परिस्थितिको बारेमा आजपाको धारणा सार्वजनिक गर्दै उनले संसद् पुनर्स्थापना नभई ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

Advertisement

उनले देश अब चुनावमा गइसकेको बताउँदै चुनाव भाँड्न दायाँबायाँ गर्ने अधिकार कसैलाई पनि नरहेको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको अनैतिकताले अहिलेको दुर्दशा भएको उनको आरोप छ ।

एमालेलाई संसद् पुनर्स्थापनाको पक्षमा टाउको नउठाउन उनले आग्रह गरे । संसद् पुनर्स्थापनाको कुरा जनताले उही बेलामा खारेज गरिदिइसकेको बताउँदै आजपा अध्यक्ष साहले फेरि गिजोल्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताए ।

‘अब देश चुनावमा जानुपर्छ । सरकारले चुनावमा भयरहीत वातावरण बनाउनुपर्छ । हामीलाई चुनाव चाहिएको छ । शान्तिपूर्ण निकास चाहिएको छ । यसका लागि नेपाली जनता अब चुप लाग्दैनन् । तपाईंहरूको तमासा अब हामी हेरेर बस्दैनौं,’ आजपा अध्यक्ष साहले भने, ‘देशलाई लोकतान्त्रिक ट्रयाक दिनुस् । हामीले चाहेको जनताको जनविद्रोहको सम्बोधन होस् । अन्तरिम संविधानसहित नयाँ सरकार बनोस् भन्ने हामीले चाहेका थियौं । नेताहरूले यसलाई धुमिल बनाए, विदेशी शक्तिहरूले हाइज्याक गर्दिए ।’

दलतन्त्रको लुट र भ्रष्टाचारविरुद्ध तेस्रो जनआन्दोलन आवश्यक रहेको बताउदै उनले अहिलेको व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिँदैन भनेर आफूहरुले तेस्रो जनआन्दोलनको उद्घोष गरेको बताए ।