Tuesday, April 28

सरकार निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्नेमा राष्ट्रिय सभाका सांसदहरुको जोड

नेपालअखबार,काठमाडाैँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारले निर्वाचनसम्बन्धी छलफललाई व्यापक बहसको विषय बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरूले निर्वाचन केन्द्रित छलफलमा ध्यान दिन सरकारलाई सचेत गराएका हुन ।

Advertisement

बैठकमा बोल्दै सांसद पदमबहादुर परियारले राष्ट्रिय महत्वको विषय भएकाले निर्वाचनको विषयमा सरकारले व्यापक छलफल अघि बढाउनुपर्ने बताए ।

उनले समितिले पनि सरकारलाई बोलाएर निर्वाचनको तयारीको बारेमा छलफल गर्नुपर्ने बताए ।

सांसद परियारले भने,‘यो निर्वाचन सम्बन्धी ऐनहरू आउँदै छ । निर्वाचन हुँदै छ । यसलाई फोकस गरेर केही छलफल राखाैँ । यो सार्वजनिक नीति नै भएकाले सोहीअनुसार छलफल अघि बढाउनु पर्छ । खासगरी निर्वाचन सम्बन्धी विषय समसामयिक पनि छ । यो राष्ट्रिय महत्वको विषय पनि भयो । यसको छलफल गरौँ।’

निर्वाचन हुने अवस्था मुलुकमा नरहेको पनि सांसदहरूले जिकिर गरे छ । सांसद सुमित्रा बिसीले मन्त्रीहरूकै राजीनामा माग्न थालिएको भन्दै फागुन २१ गते निर्वाचन हुने वातावरण नरहेको बताइन् । उनले निर्वाचनको वातावरण बनाउनका लागि सरकारले शान्ति सुरक्षाको अवस्था मजबुत बनाउने काम गर्न नसकेको आरोप समेत लगाइन् ।

सांसद बिसीले भनिन्,’यो निर्वाचनको बारेमा छलफल तत्काल गर्नुपर्ने देखिन्छ । अहिले पनि म आफूलाई लागेको विदेशमा भएका नेपालीहरूले भोट हाल्ने कुरा त्यति सुरक्षित र व्यवहारिक हुँदैन होला अहिले मलाई लागि राखेको छ । यसमा अलि व्यापक छलफल गर्नु पर्छ । अहिले यो शान्ति सुरक्षाको कुराहरू छन् । जेलबाट निस्केकाहरूले बाहिरको क्षति गर्ने त छ नै । घर परिवारकै सदस्यलाई टुक्राटुक्रा पारेको समाचार आइरहेको छ । ६  महिनामा चुनाव गर्ने भन्ने छ । समय परिस्थिति हेर्दाखेरी स्वयम सरकारको स्थिति हेर्दा पनि भएका मन्त्रीहरूको पनि राजीनामा माग्न थालिएको छ । त्यसैले निर्वाचन हुने अवस्था देखिँदैन ।’

सांसद गोमादेवी तिमिल्सिनाले सङ्घीय संसद्को सेवा सुविधा कटाउने र घटाउने काम गरेको भन्दै सरकारको आलोचना गरे । उनले जेनजी आन्दोलनले ध्वस्त बनाएका दस्ताबेजहरूको खोजी गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद तिमिल्सिनाले भनिन्,‘अर्थमन्त्रीले हाम्रो पाइरहेका सुविधा पनि घटाएको, कटाएको अवस्था छ । त्यो पनि छलफल गरिएको छ अरू समितिहरूमा । हामीले पनि सरकारका प्रतिनिधिहरू बोलाएर यो विषयमा छलफल गर्नुपर्छ । अर्को राष्ट्रिय महत्वका दस्ताबेजहरूको बारेमा जस्तो अहिले आगलागी भयो नि । यो दस्ताबेजहरू खोजेर पाइन्छ, पाइँदैन ? यसको खोजी गर्न जरुरी छ ।’

सांसद तिमिल्सिनाले मुलुकको अवस्थाबारे जानकारी लिन पनि समितिले सरकारका प्रतिनिधिहरू छलफल गरेर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताइन् ।