Tuesday, April 21

अहिलेकै अवस्थामा गाडी चलाउन सकिँदैनः उपाध्यक्ष प्रजापति

नेपाल अखबार, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सानुकाजी प्रजापतिले अहिलेकै अवस्थामा सार्वजनिक सवारीका साधन सञ्चालन गर्न समस्या रहेको भन्दै सरकारले आफूहरुको मागको सम्बोधन हुनुपर्नेम जोड दिएका छन् ।
‘अहिले कोरोना कायम छ । यस्तो बेलामा गाडी चलाउँदा पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाउनु पर्ने हुन्छ । अर्कोतिर लामो समयदेखि गाडी ग्यारेजमा रहेकाले मर्मत नगरी सञ्चालन गर्न सक्ने अवस्था पनि छैन’, उनले भने, ‘हामीले बैंकको किस्ता, ५ प्रतिशत ब्याजदरमा ऋण लगायतका विषय सम्बोधन गरिदिन सरकारसँग आग्रह गरेका छौं, त्यो पूरा नभएसम्म गाडी सञ्चालन गर्न सक्ने अवस्था नै छैन ।’
उनले अहिले पर्याप्त स्वास्थ्य सुरक्षा अपनाउन खर्चिलो हुनेहुँदा यसका लागि सरकारले आवश्यक व्यवस्था र सहजीकरण गरिदिनुपर्नेमा जोड दिए । यातायात सञ्चालनका क्रममा कुनै कमजोरी हुन पुगे पछि यातायात व्यवसायीले कोरोना फैलाए भन्ने आरोप आउन सक्ने भन्दै उनले यातायात सञ्चालनका लागि पूर्णतयारी जरुरी रहेको बताए ।
‘व्यवसायीलाई गाडी मर्मत गरेर निकाल्न नै समस्या रहेको अवस्थामा सेनिटाइजर, पीपीईलगायतको व्यवस्था गर्न समस्या छ । यसका लागि सरकारले पहल गर्नुका साथै चालक, सहचालकको स्वास्थ्य बिमालगायतका कुरा पनि छ, हामीलाई अहिले पैसा कमाउनु परेको होइन’, उनले भने ।
सरकारले छोटो दूरीका सार्वजनिक यातायात खुलाउने निर्णय गरेपनि अधिकांश यातायात व्यवसायी गाडी चलाएका छैनन् ।
उनीहरुले सवारी चालक र सहचालकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । साथै लकडाउन अवधिमा बैंकमा बुझाउनुपर्ने व्याज नलिन, बैंकको किस्ता तिर्ने समय बढाउनुपर्ने, गाडी मर्मत गर्न ५ प्रतिशत ब्याजदरमा कर्जा दिनलगायतका माग पनि अघि सारेका छन् ।
यातायात व्यवसायीहरु आफ्नो माग पूरा गराउन सरकारका प्रतिनिधिसँग छलफलमा जुटिरहेको भएपनि हालसम्म सहमति भइसकेको छैन।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *