Tuesday, February 10

वीरगञ्जमा सशस्त्रको टोलीलाई आक्रमण गरेको आरोपमा ४ जना पक्राउ

नेपालअखबार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा सोमबार ट्रान्सपोर्टको गोदाममा छापा हानेर फर्कँदै गर्दा सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतले ४ जनालाई अनुसन्धानका लागि ल्याइएको जानकारी दिए।

घटनामा संलग्न अन्य युवाहरूको पनि खोजी भइरहेको उनले बताए।

‘सशस्त्र प्रहरीलाई बिहान लाठीले आक्रमण गर्ने कार्यमा संलग्न ४ जनालाई अनुसन्धानका लागि ल्याएका छौं, अरू पनि संलग्न छन्,’ उनले भने, ‘उनीहरूको खोजी भइरहेको छ।’

सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयको टोली छापा हान्न गएको थियो। त्यो टोलीले प्रहरीसँग समन्वय गरेको भने थिएन। डिएसपी हरि बहादुरले घटना भइसकेपछि मात्रै जानकारी पाएको पुष्टि गरे।

आदर्शनगरमा मदन गुप्ताको घर भाडामा लिएर प्रमोद कुमार साह कानुले बबिता इन्टरप्राइजेज सञ्चालन गर्दै आएका थिए।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल वीरगञ्ज भन्सार र वीरगञ्ज भन्सार कार्यालयका अधिकारीसहितको टोलीले सोमबार बिहान बबिता इन्टरप्राइजेजमा छापा हानेको थियो।

बरामद गरिएको साडी र कुर्तासलवारको मूल्य १२ लाख ७२ हजार रुपैयाँ कायम गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्रीले जानकारी दिए।

गोदाममा छापामारी गरेर फर्कने क्रममा व्यापारीका समर्थकहरूले सशस्त्र प्रहरीमाथि लाठी प्रहार गरेका थिए।

सशस्त्र प्रहरीको भागाभाग भएको थियो। उनीहरूको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए भने सशस्त्र प्रहरीका दुई वटा गाडीमा क्षति पुगेको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षकको मोबाइल खोसिएको थियो।

सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल वीरगञ्ज भन्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले बरामद गरिएको सामग्री लुट्ने उनीहरूको उद्देश्य सफल नभएको बताए।

बिलबिजक भए पनि सशस्त्र प्रहरीले छापामारीको नाममा अनावश्यक दुःख दिने गरेको आरोप व्यवसायीहरूको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले भने बिलमा उल्लेख गरिएको ‘स्पेसिफिकेसन’ भन्दा फरक गुणस्तरको कपडा भेटिएपछि बरामद गरिएको बताए।

‘फर्म मालिकसँग मुचुल्का गरेर सटर खोलेका थियौं, बिल अनुसारको सामान थियो। तर स्पेसिफिकेसन अर्कै भेटियोर बिलमा एउटा ब्रान्ड लेखिएको थियो, तर सामान अर्कै ब्रान्डको भेटियो,’ उनले भने, ‘त्यसपछि हामीले सामान गाडीमा हाल्न लगाएका हौं। सामान लिएर कार्यालय जान खोज्दा व्यापारीका समर्थकहरूले आक्रमण गरे।’

सशस्त्र प्रहरी नायब उपरीक्षक विकासका अनुसार आइतबार वीरगञ्ज पिप्रा चोकबाट भिसिटिएस कागजातबिनाको ना ३ ख ५२५० नम्बरको ट्रक नियन्त्रणमा लिइएको थियो।

७१ लाख रूपैयाँभन्दा बढीको हार्डवेयर सामग्री भएको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ।

पोखरा जाँदै गरेको उक्त गाडी जय दुर्गा ट्रान्सपोर्टबाट छुटेको थियो, जसको सञ्चालक मदन कुमार गुप्ता हुन्।

‘हिजो हामीले मदनजीको भिसिटिएस कागजात बिनाको ट्रक नियन्त्रणमा लिएर पथलैया पठाएका थियौं। आज घरमा भएको इन्टरप्राइजेजमा छापा हान्न गयौं। त्यसैको आक्रोशमा मानिसहरू जम्मा पारेर आक्रमण गर्ने कार्य भयो,’ उनले भने।