
नेपालअखबार, क्वालालम्पुर । मलेसियाको पश्चिमी तट नजिकै अवैध आप्रवासी बोकेको डुंगा पल्टिएको छ । मलेसियन समुद्री प्रवर्तन एजेन्सी (एमएमईए)का अनुसार कुल ३७ जना अवैध आप्रवासी बोकेको उक्त डुंगा सोमबार समुद्रमा डुबेको थियो । २३ जनाको उद्धार गरिएको छ भने १४ जना अझै बेपत्ता रहेका छन् ।
बेपत्ताहरूको उद्धार कार्य जारी रहेको बताइएको छ। स्थानीय माछा मार्नेहरूले पानीमा मानिसहरू तैरिरहेको देखेपछि सूचना दिएका थिए । त्यसपछि उद्धार टोली परिचालन गरियो । हालसम्म १६ पुरुष र ७ महिलासहित २३ जनालाई जीवित उद्धार गरिएको छ । उनीहरूलाई अनुसन्धानका लागि अधिकारीहरूको जिम्मा लगाइएको छ । बेपत्ता १४ जनाको खोजीका लागि समुद्री प्रहरी, नौसेना र स्थानीय माछा मार्ने समुदायको सहयोगमा संयुक्त अभियान सञ्चालन भइरहेको छ। हेलिकप्टर र निगरानी विमान पनि प्रयोग गरिएको छ।प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू इन्डोनेसियाको किसारान क्षेत्रबाट मे ९ मा निस्किएको देखाएको छ । उनीहरू मलेसियाको पेनाङ, तेरेन्गानु, सेलाङ्गोर हुँदै राजधानी क्वालालम्पुरतर्फ गइरहेका थिए । बेपत्ता व्यक्तिहरूको पहिचान पुष्टि अझै नभएको र खोज कार्य जारी रहेको बताइएको छ ।

