Thursday, May 14

साढे ४४ लाख रूपैयाँ ठगी आरोपमा ३ जना पक्राउ

नेपालअखबार,दाङ । वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–२ का ३७ वर्षीय सागर गौतम, दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम तथा ओखलढुंगा सिद्धिचरण नगरपालिका–४ का ३७ वर्षीय सनम गुरूङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

Advertisement

उनले भने, ‘सागर गौतमले युएई पठाउने भन्दै चार लाख ५८ हजार रूपैयाँ, शम्भु गौतमले न्युजिल्यान्ड पठाउने भन्दै १५ लाख ९० हजार रूपैयाँ तथा सनम गुरूङले क्यानडा पठाउने भन्दै २४ लाख रूपैयाँ रकम लिएको र विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूका उजुरीका आधारमा पक्राउ गरिएको हो।’

उनीहरू तीनै जनालाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बुधबार वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए।