Friday, June 5

हिजबुल्लाहले अस्वीकार गर्‍यो इसराइल र लेबननबीचको युद्धविराम सम्झौता

नेपालअखबार, काठमाडौँ । इसराइल र लेबननबीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा हिजबुल्लाहले असहमति जनाएको छ।

प्रारम्भमा युद्धविराममा सहमत हुने संकेत दिएको हिजबुल्लाहले बिहीबार उक्त सम्झौताको सर्त अस्वीकार अमेरिकी अनलाइन एक्सियसले जनाएको छ।

Advertisement

अमेरिका, इसराइल र लेबननले बुधबार संयुक्त वक्तव्य जारी गर्दै हिजबुल्लाहले दक्षिणी लेबननको लिटानी नदीको दक्षिण क्षेत्रबाट आफ्ना लडाकु हटाउने र इसराइलमाथिका आक्रमण रोक्ने शर्तमा पूर्ण युद्धविराममा सहमति भएको बताएका थिए।

तर हिजबुल्लाहले यसलाई अस्वीकार गरेपछि सम्झौता कागजमै सीमित हुन सक्ने चिन्ता बढेको भनेर एक्सियसले लेखेको छ।

यो युद्धविरामले अमेरिका-इरान युद्ध अन्त्य हुने सम्भावना बढाएको थियो। इरानले अमेरिकासँगको कुनै पनि सम्झौताका लागि इसराइल र लेबननबीचको लडाइँको अन्त्यलाई एउटा सर्त बनाउँदै आएको थियो।

बिहीबार इसराइल-लेबनन युद्धविराममा सहमत भएपछि मात्रै हिजबुल्लाहले धारणा सार्वजनिक गरेको हो।

हिजबुल्लाह नेता नइम कासेमले सम्झौतालाई लेबननका जनताको एक हिस्सालाई समाप्त पार्ने मार्गचित्र’ भनेका छन्।

कासेमले दक्षिणी लेबननबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता नभएसम्म युद्धविराम स्वीकार्य नहुने बताएका छन्। उनले बमबारी जारी रहने भनेर चेतावनी दिएको पनि एक्सियसले लेखेको छ। ‘हाम्रा गाउँहरूमा बमबारी भइरहँदा र जनता मारिइरहँदा उत्तरी इसराइल सुरक्षित रहँदैन,’ उनले भनेका छन्।

सहमतिअनुसार दक्षिणी लेबनानमा ‘पाइलट जोन’ स्थापना गरिनेछ, जहाँ लेबननी सेनाले पूर्ण नियन्त्रण लिने र हिजबुल्लाहको उपस्थिति नरहने सुनिश्चित गर्नेछ। बदलामा इजरायली सेना त्यहाँबाट फिर्ता हुने सहमति थियो।

संयुक्त वक्तव्यमा दुवै देशले एकअर्काप्रति शत्रुतापूर्ण उद्देश्य नरहेको दोहोर्‍याउँदै बाँकी विवाद समाधान र व्यापक सम्झौताका लागि प्रत्यक्ष वार्ता जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

अर्को चरणको वार्ता जुन २२ मा अमेरिकाको वासिङ्टन डीसीमा हुने तय गरिएको छ।

फेब्रुअरी अन्त्यमा अमेरिका र इसराइलले इरानमाथि गरेको आक्रमणपछि हिजबुल्लाहले इसराइलमा रकेट प्रहार गरेसँगै इसराइलले मार्चमा लेबनन छिरेर आक्रमण गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई थर्काएपछि हिजबुल्लाह र इसराइलबीच मंगलबार आंशिक युद्धविरामको घोषणा भएको थियो।

इसराइलले हिजबुल्लाहलाई लक्ष्य गरिएको भन्दै लेबननमा आक्रमण तीव्र पारेपछि ट्रम्पले नेतन्याहूलाई फोन गरेर थर्काएका थिए। ट्रम्पले थर्काएपछि इसराइलले बेरूतमा हमलाको योजना नै रोकेको थियो। त्यसपछि लेबननले आंशिक युद्धविरामको घोषणा गरेको थियो। अहिले भने पूर्ण युद्धविराम लागू गर्न सहमति भएको हो।