
नेपालअखबार, चितवन । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाले गाउँलाई कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई प्राथमिकतामा राखेर काम गरेको छ ।
झण्डैं ४५ किलोमिटर लामो कालीगण्डकी करिडोरको सडकखण्ड बुलिङटारमा पर्दछ । ग्रामीण भेगबाट जनतालाई करिडोरको पहुँचसम्म आउन सजिलो होस् भन्ने उद्देश्यले विभिन्न लिंक रोडहरु बनाउने कामलाई प्राथमिकतामा राखेर काम गरेको गाउँपालिकाका अध्यक्ष इन्जिनियर दीपेन्द्र सुनारीले जानकारी दिए ।
उनका अनुसार विभिन्न वडाबाट करिडोरसम्मको पहुँचलाई सहज बनाउन ८ किलोमिटर सडक ढलान गरिसकिएको छ भने अन्य भागमा काम बाँकी नै छ । उनले २ किलोमिटर सडक कालोपत्रे गरेर करिडोरसम्म जोडिएको बताए ।
गाउँपालिकाका ६ वटा वडा मध्ये वडा नं. ५ बाहेक सबै वडा भएर कालीगण्डकी करिडोरको सडक गएको छ । ‘करिडोर भएर जनतालाई सहज त भयो, तर करिडोरको सडकबाट गाउँसम्म जान असुविधा भएकोले पालिकाले आवश्यकता अनुसार लिंक रोडहरु बनाएका छौ, कतिपय बन्ने क्रममा छन्’, अध्यक्ष सुनारीले भने, ‘ग्रामीण भेग भएकोले कालोपत्रे गर्दा लामोसमयसम्म नटिक्ने र पिच भत्काउने सम्भावना भएकोले महंगो मूल्य परे पनि नालीसहितको ढलान बाटोलाई पालिकाले प्राथमिकतामा राखेका छौं।’
गाउँपालिकाले ८ किलामिटर जति नयाँ ट्रयाक पनि खोलेको छ । ‘गाउँपालिकाको आफ्नो आन्तरिक आय निकै कम छ, प्रदेश सरकार केन्द्र सरकारलगायतका निकायसँग आवश्यक समन्वय गरेर सकभर बाक्लो ग्रामिण भेगबाट करिडोरसम्म आउने सडकलाई महत्व दिएका छौं’, पालिका अध्यक्ष सुनारी भन्छन्, ‘लिंक रोड बनेपछि गाउँबाट मानिसहरुलाई करिडोरसम्म आउन सहज त भएको छ नै ग्रामीण भेगका उत्पादनलाई बजार ल्याउन, कतिपय पूर्वाधारका कामहरुका लागि सामानहरु गाउँसम्म लैजान सहज भएको छ ।’
कालीगण्डकी करिडोर बनेपछि बुलिङटारका जनताको जीवनमा ठूलो परिवर्तन आएको अध्यक्ष सुनारीले बताए ।

