
नेपालअखबार, काठमाडौं । अर्घाखाँची प्रहरीले तत्कालीन नेकपा (माओवादी) ले कारागारमा आक्रमण गर्दा भागेका एक जना कैदीबन्दीलाई २२ वर्षपछि पक्राउ गरेको छ।
साबिक सिमलपानी गाविस–९ र हालको शितगंगा नगरपालिका–१३ का ५५ वर्षीय लुमबहादुर सुनार २२ वर्षपछि पक्राउ परेका हुन्।
२०६१/०७/३० गते बिहान ८ बजेतिर, तत्कालीन समयमा ३३ वर्षका सुनारमाथि आफ्नै २५ वर्षीया श्रीमती मिना सुनारलाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गर्दै कारावासको सजाय तोकेको थियो।
श्रीमती हत्याको घटनामा लुमबहादुरलाई दोषी ठहर गर्दै जिल्ला अदालत अर्घाखाँचीले ५ वर्षको कारावास सजायको फैसला सुनाएको थियो।
त्यो फैसलामा चित्त नबुझेपछि मिनाका आफन्त सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले लुमबहादुरलाई १० वर्ष कैद सजायको फैसला सुनाएको थियो।
त्यसपछि लुमबहादुर २०६१/०८/१७ गतेदेखि कपिलवस्तु कारागार कार्यालयमा थुनामा पठाइएका थिए। तर, सोही जिल्ला कारागार कार्यालयमा २०६२/१२/२५ गते तत्कालीन नेकपा (माओवादी) ले आक्रमण गरेपछि लुमबहादुर कारागारबाट भाग्न सफल भएका थिए।
जतिखेर उनले तोकिएको कैद सजाय दुई वर्ष पनि भुक्तान गरिसकेका थिएनन्। अर्घाखाँचीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक झकलप्रसाद शर्माका अनुसार हाल आएर फेरि पक्राउ परेका लुमबहादुरले अझै ८ वर्ष ७ महिना ८ दिन सजाय भुक्तान गर्न बाँकी छ।
प्रहरी प्रवक्ता शर्माका अनुसार कारागारबाट भागेपछि लुमबहादुर वर्षौंसम्म छिमेकी देश भारतमा लुकिछिपी बस्दै आएका थिए।
आफ्नै श्रीमती मिनाको हत्याको घटना प्रहरी प्रशासन र घर-समाजले पनि भुलेको ठानेर केही समयपहिले लुमबहादुर स्वदेश फर्किएर आफ्नै गाउँघरमा बस्दै आएका थिए।
त्यसबारे गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक दीपकसिंह विष्टको नेतृत्वमा खटिएको प्रहरीले लुमबहादुरलाई शितगंगा नगरपालिका–४ भेडामाराबाट २२ वर्षपछि नियन्त्रणमा लिएको थियो।
पक्राउ गरेपछि प्रहरीले लुमबहादुरलाई जिल्ला अदालत अर्घाखाँचीमा पेस गरेको थियो।
अदालतको आदेशानुसार शुक्रबार नै लुमबहादुरलाई बाँकी कैद सजाय भुक्तान गर्नका लागि जिल्ला कारागार अर्घाखाँचीमा चलान गरिएको प्रहरी प्रवक्ता शर्माले जानकारी दिए।

