
नेपालअखबार, काठमाडौँ । अमेरिका र इरानबीच फेरि हानाहान भएको छ।
अमेरिकाले इरानी सैन्य लक्ष्यमा मिसाइल प्रहार गरेपछि इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डामा लक्ष्य गरेर हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजमाथि आक्रमण गरेको आरोप लगाउँदै अमेरिकाले बुधबार बिहान इरानका विभिन्न स्थानमा हवाई हमला गरेको थियो।
त्यसको जवाफमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल प्रहार गरेको जनाएको छ।
अमेरिकी समाचार संस्था एपीका अनुसार दुई पक्षले अन्तिम शान्ति सम्झौताका लागि छलफल गर्ने तयारी भइरहँदा फेरि हानाहान हुनुले युद्धविराम धरापमा परेको आकलन गरेको छ।
इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि सम्पन्न भएपछि हर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुलाउने र इरानको आणविक कार्यक्रमबारे अन्तिम वार्ता सुरु गर्ने तयारी थियो। तर पछिल्लो सैन्य कारबाहीले ती वार्ताको भविष्य नै अन्योलमा परेको एपीले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको शोक यात्रा जारी रहँदासम्म अमेरिकाले कुनै पनि आक्रमण नगर्ने बताएका थिए।
हमलापछि अमेरिकी सेनाको सेन्ट्रल कमान्डले व्यावसायिक जहाजमा भएको आक्रमणको जवाफस्वरूप इरानका हवाई प्रतिरक्षा प्रणाली, राडार तथा इस्लामिक रिभोलुसनरी गार्डले हर्मुज क्षेत्रमा प्रयोग गर्ने ६० भन्दा बढी साना डुंगालाई निशाना बनाइएको जनाएको छ।
‘अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिक सवार व्यावसायिक जहाजमाथि भएको आक्रमणको भारी मूल्य चुकाउन अमेरिकाले यो कारबाही गरेको हो,’ सेन्टकमले भनेको छ।
साथै, सम्झौताको उल्लंघन भए इरानलाई फेरि पनि जवाफदेही बनाइने चेतावनी दिएको छ।
इरानले अमेरिकी आक्रमण भएको स्वीकार गरे पनि क्षतिको विवरण सार्वजनिक गरेको छैन। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केश्म र सिरिक क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो।
अमेरिकी हमलापछि बहराइन र कुवेतमा मिसाइल आक्रमणको चेतावनी जारी गरिएको थियो। इरानको रिभोलुसनरी गार्डले दुवै देशमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको स्वीकार गरेको छ।
रिभोलुसनरी गार्डले जारी गरेको वक्तव्यमा अमेरिकाले युद्धविराम र ‘इस्लामावाद समझदारी’ उल्लंघन गर्दै होर्मोजगान र माहशहर प्रान्तका तटीय सैन्य तथा नागरिक केन्द्रमा हवाई हमला गरेको आरोप लगाएको छ।
हमलापछि इरानका संसद् सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘धाकधम्की र जबर्जस्तीको युग समाप्त भइसकेको छ। त्यसबाट केही हासिल हुँदैन। हामी झुक्दैनौं।’
इरानी तेल बिक्रीको अनुमति पनि खारेज
आक्रमणसँगै अमेरिकाले अन्तरिम सम्झौताअन्तर्गत इरानलाई खुला रूपमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल बिक्री गर्न दिएको विशेष अनुमति पनि खारेज गरेको छ।
यो अनुमतिले वर्षौंपछि इरानलाई अमेरिकी डलरमा खुला रूपमा तेल बेच्ने अवसर दिएको थियो।
यसअघि इरानले प्रतिबन्धित तेल चीनलाई बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्दै आएको आशंका रहँदै आएको थियो।
बेलायतको युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार ओमानको तट नजिक गुडिरहेको एउटा तेल तथा ग्यास बोकेको जहाजमा आक्रमण हुँदा आगलागी भएको थियो।
इरानी सरकारी टेलिभिजनले चेतावनी बेवास्ता गरेपछि जहाजमाथि आक्रमण भएको दाबी गरे पनि त्यसको जिम्मेवारी भने स्पष्ट रूपमा लिएको छैन।
अन्य दुई जहाजमा पनि क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको र ती जहाजले यात्रा जारी राखेको यूकेएमटीओले जनाएको छ।
कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले कतारी ट्यांकर अल-रेकय्यात माथिको आक्रमणलाई अन्तर्राष्ट्रिय जलयातायात र विश्व ऊर्जा सुरक्षामाथिको ‘अस्वीकार्य आक्रमण’ भन्दै यसको पूर्ण कानुनी जिम्मेवारी इरानले लिनुपर्ने बताएका छन्।
हर्मुज जलडमरूमध्यबाट सामान्य अवस्थामा विश्वमा कारोबार हुने करिब पाँचौं हिस्सा तेल तथा प्राकृतिक ग्यास ओसारपसार हुने भएकाले त्यहाँको तनावले विश्व ऊर्जा बजारमा फेरि अस्थिरता बढ्ने चिन्ता गरिएको छ।




