
नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यगरी सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा दिएको फैसलाको पुनरवलोकन आदेशका सम्बन्धमा संस्थागत धारणा तय प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
अदालतको फैसला र त्यसले पार्टीको वैधानिकतामा पार्ने प्रभावबारे बैठकमा छलफल हुने चालिसेले बताए ।
बैठकमा पार्टीका महामन्त्रीले समसामयिक राजनीतिक विषय र साङ्गठनिक कार्यसूचीसहितका एजेन्डाहरू प्रस्तुत गर्ने कार्यक्रम छ। आगामी महाधिवेशनलाई केन्द्रमा राखेर बोलाइएको यस बैठकमा पार्टी सङ्गठन सुदृढीकरणका विविध विषयमा पनि छलफल हुने प्रवक्ता चालिसेले बताए ।
महाधिवेशनको पूर्वसन्ध्यामा देखिएको क्रियाशील सदस्यता विवाद समाधान गर्नु यस बैठकको अर्को मुख्य एजेन्डा रहेको छ। देशभरका विभिन्न जिल्ला र क्षेत्रमा देखिएका क्रियाशील सदस्यता सम्बन्धी उजुरी र विवादलाई टुङ्ग्याएर महाधिवेशनको सुनिश्चितता गर्ने तयारीमा कांग्रेस लागेको छ।
पार्टीभित्रको आन्तरिक एकता कायम गर्दै महाधिवेशनमा सबै तहका नेता तथा कार्यकर्ताहरूले निर्धक्क र उत्साहजनक रूपमा भाग लिन सक्ने समावेशी वातावरण निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ।




