Monday, August 10

रोपाइँ सकिँदा पनि मल नपाएकोमा पूर्वप्रधानमन्त्री प्रचण्डले गराए सरकारको ध्यानाकर्षण

नेपालअखबार,काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस लगायत देशका विभिन्न भागमा देखिएको रासायनिक मलको चरम अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । रोपाइँ सकिँदा समेत किसानले सहज रूपमा मल नपाउँदा ठुलो समस्यामा परेको भन्दै उनले तत्काल मलको आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन् ।

Advertisement

सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्- ‘सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन। यसका साथै, उपलब्ध रहेको मल समेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको छ ।’

Advertisement
Advertisement

मल आयातको प्रक्रिया जटिल रहेकोले यसका लागि समयमा नै पूर्व तयारी आवश्यक पर्ने भन्दै उनले आफ्नो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको यही गाम्भीर्यता बुझेर समयमा नै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेट समेत सुनिश्चित गरेको स्मरण गराए ।

Advertisement

‘यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न, आगामी वर्षका लागि समेत तयारी गर्न तथा कालोबजारी एवं बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्न आग्रह गर्दछु’, उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।