Sunday, August 16

सरकारले पहिरो प्रभावित जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउँदै

नेपालअखबार,काठमाडौं । सरकारले पहिरो प्रभावित जिल्लामा थप विपद्को सम्भावना पहिचान गर्न प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने भएको छ ।

Advertisement

मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका,  जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको हो ।

Advertisement
Advertisement

अध्ययन टोलीमा जल तथा मौसम विज्ञान विभागको समेत सहभागिता गराउने निर्णय भएको छ ।

Advertisement

लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा जमिन गल्ने, पहिरो जाने तथा बस्ती थप जोखिममा पर्नसक्ने अवस्था देखिएपछि प्रभावित क्षेत्रको भौगर्भिक अवस्था अध्ययन गर्न लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा.धर्मराज उप्रेतीले जानकारी दिए ।

अध्ययनबाट पहिरोको जोखिमको अवस्था, जमिनको स्थायित्व तथा प्रभावित क्षेत्रको थप जोखिम पहिचान गरी आवश्यक सुरक्षा तथा व्यवस्थापनका उपाय तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कमान्ड पोस्टले मनसुन सक्रिय रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा लगातार वर्षाका कारण पहिरोको जोखिम बढिरहेको भन्दै सम्बन्धित निकायलाई पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउनसमेत निर्देशन दिएको छ ।

साथै, मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन मनसुन प्रतिकार्य कमाण्ड पोस्टले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई निर्देशन पनि दिएको छ ।

कमान्ड पोस्टले अवरुद्ध सडक, खानेपानी, सिँचाइलगायत अत्यावश्यक सेवा तत्काल मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ ।

यस्तै, नदी कटान तथा पहिरो नियन्त्रणका काम गर्न र प्रभावित परिवारलाई मनोसामाजिक परामर्श तथा स्वास्थ्योपचारलगायत सेवा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।