
नेपालअखबार,काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सञ्जाल ‘काठमाडौँ उपत्यका मेयर्स फोरम’को आकस्मिक बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायतका समसामयिक विषयमा अवगत गराउने निर्णय गरेको छ।
मंगलबार सम्पन्न फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री शाहसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाएर फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
प्रधानमन्त्रीसँग हुने भेटघाटमा २०८३ भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति घोर आपत्ति समेत जनाइने विज्ञप्तिमा उल्लेख छ।
यसअघि हालका प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख छँदादेखि नै उपत्यकाभित्रको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेप वेस्टबिच भएको सम्झौता कार्यान्वयन गर्न वा सम्झौता खारेज गरेर फोहोर व्यवस्थापनका लागि मार्ग प्रशस्त गर्न फोरमको बैठकमा पटक-पटक छलफल हुँदै आएको थियो।
उपत्यकाभित्रको फोहोर व्यवस्थापन तीनवटै तहका सरकारको साझा सरोकारको विषय भएको र यसलाई दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय सरकार सदा प्रतिबद्ध रहेको फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।





