
नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका तटीय क्षेत्रमा ठुलो क्षति पुगेकाले तत्काल राहत र उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै नेकपाले विपदमा परेका नागरिकको जीवन रक्षा पहिलो दायित्व भएकाले विपद् व्यवस्थापनका लागि सम्पूर्ण संयन्त्र परिचालन प्रयोग गर्न सरकारसँग आग्रह गरेको हो ।
‘विपद्मा परेका नागरिकको जीवन रक्षा पहिलो दायित्व भएको उल्लेख गर्दै पार्टीले विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र विकल्पहरू परिचालन गरी प्रभावकारी उद्धार तथा राहत कार्य अघि बढाउन सरकारसँग विशेष आग्रह गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
साथै, विपद्को यस कठिन घडीमा सङ्घ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिक सबैलाई एकजुट भई उद्धार कार्यमा जुट्न अपिल गरिएको छ।
पार्टीले आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी तत्काल उद्धार, राहत तथा मानवीय सहायतामा सक्रिय रूपमा खटिन विशेष निर्देशन समेत दिएको छ।




