
नेपालअखबार, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजार तीन सय वटाभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले करिब ६०० मालवाहक, ३०० यात्रुवाहक सवारी साधन र भन्सारमा जाँचपासका लागि राखिएका ४०० सवारी साधनमा क्षति पुगेको जानकारी दिए।
‘सामान लिन भन्सार नाकामा गएका, यात्रु लिएर रसुवा र गोसाइँकुण्ड गएका तथा भन्सारमा जाँचपासका लागि राखिएका गरेर १३ सय वटाभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ। निजी सवारी साधनमा भएको क्षतिबारे अझै यकिन गर्न सकिएको छैन,’ महासचिव गौतमले भने।
बाढीले चीनको केरूङ नाकामा सामान लिन गएका र भन्सार जाँचपासका लागि राखिएका सयौं ट्रक, कन्टेनर, यात्रुवाहक बस, माइक्रोबस र नयाँ सवारी साधनमा क्षति पुर्याएको महासंघले जनाएको छ।
महासचिव गौतमले अर्को सूचना नभएसम्मका लागि प्रभावित क्षेत्रका सबै यातायात सेवा स्थगित गरिएको बताए।
विपदको घडीमा तत्काल उद्धार र राहतका लागि सबै क्षेत्रसँग अपिल गरेका छन्।
महासंघले नेपाल सरकारसँग तत्काल सबै निकायहरू परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उपचार र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।
साथै, बाढी प्रभावित व्यवसायी र मजदुरलाई पुनः जीविकोपार्जनको वातावरण मिलाउन महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।
रासस




