Tuesday, September 22

त्रिपुरेश्वर बस आगलागीमा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु

नेपालअखबार,काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीको क्रममा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ।

Advertisement

सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा चालकको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

Advertisement
Advertisement

‘गएराति बस चालकको उपचारको क्रममा मृत्यु भएको छ,’ उनले भने।

Advertisement

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान खुलिसकेको छैन। यसअघि ती व्यक्ति बागमती गाउँपालिकाका दावा लामा भनिएको थियो। त्यही नामको लाइसेन्स पनि प्रहरीले प्राप्त गरेको थियो।

तर अहिले दावा लामा नाम गरेका व्यक्ति सम्पर्कमा आएपछि ती चालकको नाम नखुलेको हो। चालकको कोही आफन्त पनि सम्पर्कमा आइनसकेको हुँदा सनाखत नभएको एसपी सुवेदीले बताए।

‘अहिलेसम्म आफन्तहरू कोही आउनुभएको छैन। त्यसकारण सनाखत हुन सकेन। दावा लामा नाम गरेका व्यक्तिको लाइसेन्स बरामद भएको थियो। साथै ती व्यक्तिले पनि आफ्नो नाम दावा नै भन्दै गरेको रिपोर्टिङ भएको थियो,’ उनले भने, ‘दावा लामा सम्पर्कमा आएर आफ्नो लाइसेन्स हराएको भन्ने खबर गरेका छन्। हामी बुझ्दैछौं। पछि ती व्यक्तिको परिचय अर्कै हुनसक्ने प्रहरीले बताएको छ।

सोमबार मध्यान्हमा त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरीसँग विवाद भएको भिडिओ पनि बाहिरिएको थियो। भिडिओमा उनले आफूले गल्ती नगरे पनि ट्राफिक प्रहरीले चिट काट्न खोजेको भन्दै आक्रोश पोखेको भिडिओमा देखिएको थियो।

विवादको क्रममा उनले सडकमा बस तेर्साएका थिए। पछि उनले बसस्टपमा लगेर बस रोकेका थिए। यात्रु सबै झरिसकेपछि उनले भित्र बसमा आगजनी गरेका थिए। आगजनीबाट उनीसमेत घाइते भए। प्रहरीले उनको उद्धार गरी कीर्तिपुर अस्पताल पठाएको थियो।

घटनाको छानबिन गर्नका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको छ। पाँच सदस्यीय समितिलाई चाँडो प्रतिवेदन बुझाउन भनिएको छ।